अलजजीराका ५ पत्रकारको हत्या गरेकोमा प्रेस संगठनहरूले गरे इजरायलको निन्दा

द एभरेष्ट पोष्ट
२७ साउन २०८२ १२:२४
अलजजीराका ५ पत्रकारको हत्या गरेकोमा प्रेस संगठनहरूले गरे इजरायलको निन्दा

एजेन्सी । इजरायलले अलजजीरा सञ्चारमाध्यममा आबद्ध पाँचजना पत्रकारको हत्या गरेपछि प्रेस संगठनहरूले भर्त्सना गरेका छन् । कमिटी टु प्रोटेक्ट जर्नलिस्ट्सले यस आक्रमणको जवाफदेहिता वहन गर्न इजरायललाई आह्वान गरेको छ । त्यस्तै नेशनल प्रेस क्लबले घटनाको छानबिन गर्नका लागि आग्रह गरेको छ । उता फ्रीडम अफ प्रेस फाउन्डेशनले मिडियामाथि थप आक्रमण रोक्नका लागि अपील गरेको छ ।

अलजजीरा स्वयंले आफ्ना पाँच कर्मचारीको इजरायलले हत्या गरेको भनी निन्दा गरेको छ । गाजामाथि कब्जा गर्ने इजरायलको कदमलाई उजागर गर्ने आवाजहरूलाई दबाउने प्रयत्नका रूपमा अलजजीराले यस घटनालाई लिएको छ । इजरायलको सेनाले ताकेर नै पत्रकारहरूको हत्या गरेको हो । उसले त्यसको जिम्मेवारी पनि लिइसकेको छ । संवाददाताहरू अनस अल–शरीफ र मोहम्मद कुरेशीका साथै क्यामराम्यानहरू इब्राहिम जाहेर र मोआमेन अलिवा तथा उनीहरूका सहायक मोहम्मद नौफालको हत्या भएको हो ।

आइतवार साँझ गाजा शहरको अल–शिफा अस्पतालको मेन गेट बाहिर रहेको एउटा टेन्टमा बसिरहेको बेलामा ती पत्रकारहरूको हत्या भएको हो ।हत्या हुुनुभन्दा केही अघि पत्रकार अल–शरिफले गाजा शहरको पूर्वी र दक्षिणी भागमा तीव्र रूपमा बम प्रहार गरिरहेको भनी एक्स सामाजिक सञ्जालमा लेखेका थिए ।

उनको अन्तिम भिडियोमा इजरायलले भयंकर रूपमा क्षेप्यास्त्र प्रहार गरिरहेको ठूलो आवाज सुनिन्छ । त्यसपछि अँध्यारो आकाशमा सुन्तला रंगको प्रकाश फैलिएको पनि देखिन्छ । इजरायलले विगत दुई वर्षमा गाजामा चलाएको सैन्य कारवाहीमा कम्तीमा ६१ हजार ४३० जनाको मृत्यु भएको छ भने १ लाख ५३ हजार २ सय १३ जना घाइते भएका छन् । हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि गरेको आक्रमणमा करिब ११ सय ३९ जनाको मृत्यु भएको थियो र २०० भन्दा मानिस बन्दी बनाइएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस