उत्तरकाशीमा धराली गाउँमा अचानक आएको बाढीमा परी चार जनाको मृत्यु, ५० जना बेपत्ता

दिल्ली, ५ जुलाई ।
भारतको उत्तराखण्डको उत्तरकाशी जिल्लास्थित धराली गाउँ मंगलवार अपरान्ह अचानक आएको भीषण बाढी र पहिरोले क्षणभरमै बगरमा परिणत भयो । स्थानीय बासिन्दाहरु भाग्ने मौका समेत पाएनन् । बाढीले बगाउदा चार जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढि बेपत्ता भएका छन् ।
खीरगंगा नालामा अचानक आएको बाढीले धराली गाउँका घर, होटल तथा मन्दिर समेत गरी ५० भन्दा बढि संरचना बगाएको र थुप्रै संरचनामा क्षति पुर्याएको स्थानीय प्रशासनले जनाएको छ।
जिल्ला प्रमुख प्रशान्त आर्यका अनुसार अहिले सम्मको तथ्यांकअनुसार चार जनाको ज्यान गएको पुष्टि भएको छ भने दर्जनौँ संरचना बगाएको छ।
धरालीकी स्थायी बासिन्दा आस्था पवारले भनिन्, “हामीले आफ्नै आँखाले घर र होटलहरू बगेको देख्यौ । पहिलो लहर अत्यन्तै तीव्र र खतरनाक थियो। जसले निमेष भरमै गाउँलाई बगरमा परिणत गरिदियो ।
उनको गुनासो छ, “हामीलाई कुनै चेतावनी दिइएको थिएन। न छुट्टी थियो, न कुनै अलर्ट। यदि सूचना दिइएको हुन्थ्यो भने यत्रो क्षति नहुन सक्थ्यो।”
घटना स्थलबाट ४ किलोमिटर टाढा रहेको भारतीय सेनाको क्याम्पसमेत प्रभावित भएको जानकारी दिइएको छ।
ब्रिगेडियर मंदीप ढिल्लनका अनुसार हर्षिल पोस्टमा तैनाथ सेनाले १० मिनेटभित्र धराली पुगेर उद्धार कार्य आरम्भ गरेको थियो।
हालसम्म २० जना नागरिकको उद्धार गरिएको छ। घाइतेहरूको उपचार जारी छ।
प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्स मार्फत घटनाप्रति समवेदना प्रकट गरेका छन्। उनले भने, “राज्य सरकार र केन्द्र सरकारका तर्फबाट राहत तथा उद्धार कार्यमा कुनै कमी रहने छैन।”
कांग्रेस नेता राहुल गान्धीले पनि शोक व्यक्त गर्दै पार्टी कार्यकर्तालाई राहतमा सहयोग गर्न निर्देशन दिएका छन्।
धराली गाउँ गंगोत्री तीर्थयात्रा मार्गमा पर्ने भएकाले चारधाम यात्रुहरू पनि प्रभावित भएका छन्। वर्षा अझै जारी रहेको हुँदा वरपरका क्षेत्र खाली गराइँदैछ।