कोमल वलीले ल्याइन् तीज गीत ‘सुनिदेऊ शिव’

द एभरेष्ट पोष्ट
२६ असार २०८२ १७:४०
कोमल वलीले ल्याइन् तीज गीत ‘सुनिदेऊ शिव’

धनगढी । लोकगायिका कोमल वलीले आउँदो तीजलाई लक्षित गर्दै नयाँ गीत ‘सुनिदेऊ शिव’ युट्युबमा सार्वजनिक गरेकी छन् । बुधबार सार्वजनिक गीतको शब्द, संगीत र स्वर कोमलको आफ्नै छ । हरेक वर्ष भिन्न मर्म र शैलीका तीज गीत ल्याउने कोमलले यसपटक शान्त र भावुक गीत ल्याएकी छन् ।

गीतमार्फत एक चेलीले तीजमा धर्मअनुसार व्रत बसेर महादेवसँग मनको मर्म सुनाइदिन आग्रह गरेकी छन् । भाकामा शान्त लय छ र शब्दमा सरलता, जसले गीतलाई धार्मिक भावनासँग जोडेको छ । कुनै झिलिमिली भिडियो वा चम्किला शब्द नभई गीतमा आत्मीयता र भक्ति झल्किन्छ ।

 

वलीले अघिल्ला वर्षमा ल्याएको ‘पोइला जान पाम’, ‘तीजमा रमाइलो’, ‘बोल्नेलाई बोल्न देऊ’ निकै चर्चित रहे । लोकसंगीत मात्र होइन, संचारकर्म र राजनीतिमा पनि उनी उत्तिकै सक्रिय छिन् ।

दाङमा जन्मिएकी वलीको सांगीतिक यात्रा २०४६ सालमा रेडियो नेपालको लोकगीत प्रतियोगिताबाट सुरु भएको हो । त्यसपछि उनले रेडियो नेपालमा झण्डै २३ वर्ष समाचारवाचन, कार्यक्रम सञ्चालन र प्रस्तुति कार्यमा बिताइन् ।

गीतसंगीतसँगै सञ्चार र सार्वजनिक जीवनमा सक्रिय रहेकी उनी केहीवर्ष देखि राजनीतिमा पनि सक्रिय छिन् । ‘सुनिदेऊ शिव’मार्फत उनले फेरि एकपटक तीजको गहिरो पक्ष दर्शाउने प्रयास गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस