आईसीसी टी-२० विश्वकप छनोट : नेपालको पहिलो खेल कुवेत र दोस्रो खेल जापानसँग

काठ्माण्डौँ- आईसीसी टी-२० विश्वकपको १०औं संस्करण सन् २०२६ मा भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ । उक्त विश्वकपमा २० वटा टोलीले सहभागिता जनाउने छन् । त्यसमध्ये १३ टोलीको टुंगो लागिसकेको छ ।
भारत र श्रीलंकाले आयोजकका रूपमा सन् २०२६ को टी-२० विश्वकप खेल्नेछन् । अस्ट्रेलिया, अफगानिस्तान, बंगलादेश, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका र वेस्ट इन्डिज भने अघिल्लो संस्करणमा गरेको प्रदर्शनका आधारमा सन् २०२६ को विश्वकपमा छानिएका हुन् ।
आयरल्यान्ड, न्युजिल्यान्ड र पाकिस्तान सन् २०२४ जुन ३० सम्मको आईसीसी वरीयताका आधारमा आगामी विश्वकपमा स्थान बनाउन सफल भएको हो । क्यानडा भने अमेरिकी क्षेत्रबाट छनोट चरण पार गर्दै विश्वकपमा छनोट भएको हो ।
अब एसिया तथा प्रशान्त क्षेत्रबाट तीन, अफ्रिका क्षेत्रबाट दुई र युरोपेली क्षेत्रबाट दुई टोली विश्वकपमा छनोट हुन बाँकी छ । नेपालले हालसम्म दुईपटक टी-२० विश्वकप खेलिसकेको छ ।