नाउपासँग छलफल गरेर अगाडी बढ्न मुख्यमन्त्री शाहलाई सभापति देउवाको सुझाव, रिक्त मन्त्रालयमा नाउपालाई नै नियुक्त गर्न छलफल

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
उन्मुक्ति पार्टीले समर्थन फिर्ता गरेको एक दिनपछि शनिवार बुढानीलकण्ठस्थित निवास पुगेर उनले सभापति देउवासँग भेट गरेका हुन् । मुख्यमन्त्री शाहका प्रेस संयोजक डम्मर बमले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको प्रतिक्रिया दिएका छन् ।
बिहीबार मुख्यमन्त्री शाहले नाउपाको तर्फबाट उद्योग पर्यटन वन तथा वातावरण मन्त्री भएका रामेश्वर चौधरीलाई बर्खास्त गरेका थिए । त्यसलगत्तै नाउपाले सङ्घ र प्रदेशमा आफ्नो समर्थन फिर्ता लिने घोषणा गरेको थियो ।
सुदूरपश्चिम प्रदेशमा शुक्रवार समर्थन फिर्ता लिएको नाउपाले सङ्घमा फिर्ता लिन भोली बिहान १० बजे संसदीय दलको बैठक आह्वान गरेको छ । सभापति देउवालाई मुख्यमन्त्री शाहले मन्त्रीलाई पदमुक्त गर्नुको कारणसहित पछिल्लो घटनाक्रमबारे जानकारी गराएका थिए । सभापति देउवाले मुख्यमन्त्री शाहलाई देखिएका समस्याहरू वार्ता र संवाद मार्फत हल गर्न सुझाव दिएका थिए ।
नाउपासँग संवाद गरेर रिक्त रहेको मन्त्रालयमा नाउपाबाटै मन्त्री बनाउनेगरि अघि बढ्न मुख्यमन्त्री शाहलाई सभापति देउवाले सुझाव दिएका थिए । सुदूरपश्चिम प्रदेशमा नाउपाका ७ सांसद छन् । नाउपाले समर्थन फिर्ता लिँदैमा मुख्यमन्त्रीले विश्वासको मत लिनु पर्ने वा सरकार ढल्ने अवस्था छैन । तर, नाउपालाई साथमै लिएर अघि बढ्न सभापति देउवाले मुख्यमन्त्रीलाई सुझाव दिएको निकट स्रोतको भनाइ छ ।
मुख्यमन्त्री शाहले नाउपासँग छलफल गरेर अगाडी बढ्ने सभापति देउवालाई बताएका थिए । आज बिहान सभापति भेट्न मुख्यमन्त्री शाह काठमाडौँ पुगेका थिए । भेटमा सरकारको गतिविधि र बजेट पारित लगायतका विषयमा पनि कुरा भएको थियो ।