पूर्वमुख्यमन्त्री रावलको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग

धनगढी। पूर्व मुख्यमन्त्री एवम् सत्तारुढ दल नेकपा (एमाले) का संसदीय दलको नेता राजेन्द्रसिंह रावलले प्रतिपक्षीलाई सदनमा बाँदरको संज्ञा दिएपछि उनको त्यस अभिव्यक्तिलाई संसद्को रेकर्डबाट हटाउन माग गरिएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा ९माओवादी केन्द्र० ले रावलको अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउन माग गरेको हो । प्रदेशसभामा बुधबार सरकारको बजेटमाथिको छलफलमा बोल्दै रावलले प्रतिपक्षीलाई बाँदरको संज्ञा दिएका थिए । प्रतिपक्षीले घरमा आगो लगाउने कार्य गरिरहेको भन्दै उनले भने, “बाँदरले आफ्नो घर पनि बनाउँदैन । अर्काको घर पनि बन्न दिँदैन । हिजो सरकार चलाउँदा त्यो प्रवृत्ति देखेकै हौं । हिजो दुई दुई सरकार चलाउँदा त्यो प्रवृत्ति हामीले भोगेरै आएका छौं । त्यो प्रवृत्ति आज पनि छ ।”
रावलले प्रतिपक्षीलाई उक्साहट र हिनताबोधको कुरा नगर्न आग्र गर्दै थपे, “हिनताबोधको कुरा नगर्नुस् । सरकार चलाउनलाई जनताको बिचमा जानुस । प्रतिस्पर्धा गर्नुस् । पहल कदमी लिनुस् । जिते हस्तिनापुरीमा राज गर्नु होला । हारे चुपरीमुनिको बास बस्नू पर्ला । अहिले चपरीमुनि बास बस्ने म्यान्डेट प्राप्त भएकाले चपरीमुनि नै बास बस्नुस् ।”
पूर्वमुख्यमन्त्री रावलको अभिव्यक्तिप्रति माओवादीका मानबहादुर धामीले आपत्ति जनाउनु भएको थियो । उहाँले रावलको अभिव्यक्ति प्रदेश सभा नियमावलीविपरित रहेको भन्दै संसदको रेकर्डबाट हटाउन माग गरे । “उनको अभिव्यक्ति संसदीय मर्यादा र मानवीय स्वभावभित्र पर्दैन । सभामुख महोदय, यसलाई तुरुन्त संसदको रेकर्डबाट हटाइयोस्”, धामीले भने ।
रावलको अभिव्यक्तिमाथि छानविन गरेर माग अनुसारको कारबाही प्रक्रिया अगाडि बढाउने सभामुख भीमबहादुर भण्डारीले बताए ।