साउदीमा नेपाली फुटबल प्रतियोगिता सम्पन्न
 
                                 साउदी : साउदी अरेबियामा नेपाली फुटबल प्रतियोगिता सम्पन्न भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने उद्देश्यका साथ चौथो रियाद कप फुटबल प्रतियोगिता-२०२५ तथा तेस्रो दम्माम च्याम्पियन कप–२०८२ प्रतियोगिता आयोजना भएको हो।
चौथो रियाद कप फाइनलमा रियाद फुटबल क्लब रातो र सगरमाथा फुटबल क्लब रातोबीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा दुबैतर्फ एक/एक गोलको बराबरीमा प्रतिस्पर्धात्मक रुपमा चलिरहँदा पहिलो हाफको अन्त्यमा सगरमाथा फुटबल क्लब रातोका खेलाडी र रियाद फुटबल क्लब रातो खेलाडीहरू एयर बलमा हेड गर्ने क्रममा ठोक्किन पुग्दा रियाद फुटबल क्लबका खेलाडी गम्भीर घाइते भएपछि खेल स्थगित भएको थियो।
आयोजक समितिको आग्रहमा दुवै टिमको सहमतिमा सगरमाथा फुटबल क्लब रातोलाई चौथो रियाद कप-२०२५ को बिजेता घोषित गरिएको थियो । बिजेता टीमलाई नगदसहित ६ हजार रुपैयाँ तथा ट्रफी,मेडल,प्रमाणपत्र हस्तान्तरण गरिएको थियो। झापा ११ फुटबल क्लबका सल्लाहकार तथा कोशी प्रदेशका क्लबहरूमा आबद्ध सुमन भट्टराईलाई सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो। प्रतियोगितामा १८ टिमले प्रतिस्पर्धा गरेका थिए ।
साथै साउदी अरेबियाको पूर्वी क्षेत्र दम्माममा आयोजित तेस्रो दम्माम च्याम्पियन कप–२०८२ को उपाधि आयोजक युनाइटेड नेपाल फुटबल क्लब दम्मामले जितेको छ । फाइनल खेलमा युनाइटेड नेपाल फुटबल क्लबले पाथीभरा फुटबल क्लबलाई २-१ गोलअन्तरले पराजित गर्दै उपाधि चुम्न सफल भएको हो।
विजेता युनाइटेड क्लबले नगद ७ हजार ७७७ साउदी रियाल लगभग २ लाख ८० हजार नेपाली रुपैयाँ, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नुको साथै उपविजेता पाथीभरा क्लबले ४ हजार ४४४ साउदी रियाल करिब १ लाख ६० हजार नेपाली रुपैयाँ,ट्रफी,प्रमाणपत्र र मेडल प्राप्त गरेको थियो ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा व्यवस्थापकहरूलाई विशेष सम्मान गरिएको थियो । प्रतियोगितामा २१ टिम आबद्ध रहेका थिए । उद्घाटन समारोहमा उपस्थित राजदूत डा. नरेश बिक्रम ढकालले, “विदेशी भूमिमा रहेर पनि नेपालीहरूबीच खेलकुद कार्यक्रम हुनु अत्यन्त राम्रो भएको र यसले नेपाली बीच एकता,अनुशासन र सशक्त समाज निर्माणमा टेवा पुर्याउने विश्वास व्यक्त गरेका थिए।
दुबै खेलमा साउदीस्थित विभिन्न संघ-संस्थाका प्रतिनिधिहरू र नेपालीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

 
                                         
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                      
                                      
                                      
                                      
                                      
                                      
                                     