युद्धले पारेको प्रभाव अध्ययन गर्न कार्यदल गठन

द एभरेष्ट पोष्ट
१८ चैत २०८२ ७:२०
युद्धले पारेको प्रभाव अध्ययन गर्न कार्यदल गठन

काठमाडौं । एक महिनादेखि पश्चिम एसिया (मध्यपूर्व)मा जारी युद्धका कारण परेको अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संकटहरूको प्रभाव अध्ययन गर्न सरकारले मन्त्रीस्तरीय कार्यदल गठन गरेको छ । सरकारले शनिबार सार्वजनिक गरेको सय दिनमा सम्पन्न गर्ने सय कार्यसूचीको बुँदा ९५ अनुसार परराष्ट्रमन्त्री शिशिर खनालको संयोजकत्वमा सोमबार उच्चस्तरीय अन्तरमन्त्रालय कार्यदल गठन भएको हो ।

उच्चस्तरीय कार्यदलमा परराष्ट्रसचिव अमृतबहादुर राई, अर्थसचिव घनश्याम उपाध्याय, श्रमसचिव डा. दीपक काफ्ले, उद्योग वाणिज्य तथा आपूर्तिसचिव मधुसूदन बुर्लाकोटी, ऊर्जासचिव चिरञ्जीवी चटौत र गृहसचिव राजकुमार श्रेष्ठ छन् । परराष्ट्रको पश्चिम एसिया महाशाखा प्रमुख सहसचिव रामकाजी खड्का कार्यदलको सदस्यसचिव तोकिएका छन् ।

कार्यदलले दुईवटा काम गर्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताए । उनका अनुसार पहिलो, युद्धका कारण अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संकटहरूको प्रभाव अध्ययन गर्नेछ र आवश्यक नीति तथा रणनीति तयार गर्नेछ । यो कार्य ३० दिनभित्र सम्पन्न हुनेछ ।

दोस्रो, पश्चिम एसिया (मध्यपूर्व)का द्वन्द्वहरूमा विकसित हुँदै गएको परिस्थितिका कारण नेपालमा आर्थिक, वैदेशिक रोजगारी, आपूर्ति शृंखला, ऊर्जा तथा सामाजिक क्षेत्रमा पर्ने बहुआयामिक प्रभावहरूको मूल्यांकन तथा व्यवस्थापनको सुझाव पेस गर्नेछ । यसबारे कार्यदलले सात दिनभित्र अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन नीतिगत कार्ययोजना सुझावसहित प्रतिवेदन पेस छ । त्यसपछि सरकारले उक्त प्रतिवेदनका आधारमा आवश्यक निर्णय तथा कार्यान्वयन प्रक्रिया तत्काल अघि बढाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस