‘आबाट आमा’ को कमाइ ११ करोड नाघ्यो
काठ्माण्डौ- चन्द्र पन्त निर्देशित फिल्म ‘आबाट आमा’ ले घरेलु बक्स अफिसमा ११ करोड रूपैयाँभन्दा बढी ग्रस कमाइ गरेको छ।
माघ १६ गतेदेखि प्रदर्शनमा आएको फिल्मले सिनेपाः बक्सअफिसमा ११ करोड २४ लाख ६ हजार ९६९ रूपैयाँ कमाइ गरेको हो। उक्त कमाइ हुँदा फिल्मको ४ लाख २३ हजार १११ वटा टिकट बिक्री भएका छन्। यो विवरण फागुन ९ गते शनिबारसम्मको हो।
चलचित्र विकास बोर्डले ‘आबाट आमा’ सहित अन्य फिल्मको पनि बक्स अफिस रिपोर्ट सोमबार सार्वजनिक गरेको छ।
‘आबाट आमा’ भावनात्मक पारिवारिक कथामा आधारित फिल्म हो।
यसमा पल शाह, विपना थापा, प्रदीप रावत, सिम्रन पन्त, साइग्रेस पोखरेल, उषा उप्रेतीलगायत कलाकारहरूको अभिनय छ। यो फिल्म सुपरहिट भएसँगै ‘आबाट आमा २’ को निर्माण घोषणा समेत भइसकेको छ।
यतिबेला हलमा नयाँ रिलिज फिल्म नभएकाले ‘आबाट आमा’ अझै लामै समय टिक्ने अनुमान गरिएको छ।
