निर्वाचन आचारसंहिताका कारण डोटी महोत्सव स्थगित

द एभरेष्ट पोष्ट
१९ माघ २०८२ १२:१३
निर्वाचन आचारसंहिताका कारण डोटी महोत्सव स्थगित

डोटी: फागुन १ गतेदेखि सुरु गर्ने तयारी गरिएको डोटी महोत्सव निर्वाचन आचारसंहिताका कारण स्थगित गरिएको छ। डोटी उद्योग वाणिज्य संघको आयोजनामा हुने भनिएको महोत्सव निर्वाचन आयोग नेपालको निर्देशनपछि रोकिएको हो।

जिल्ला प्रशासन कार्यालय डोटीबाट पुस २३ गते अनुमति प्राप्त गरिसकेको महोत्सव अन्तिम तयारीको चरणमा पुगेका बेला माघ १४ गते निर्वाचन आयोगले प्रचार–प्रसार तथा सार्वजनिक कार्यक्रम सञ्चालनमा आचारसंहिता कडाइका साथ पालना गर्न निर्देशन दिएको थियो। सोही निर्देशनलाई मध्यनजर गर्दै माघ १७ गते बसेको डोटी उद्योग वाणिज्य संघको कार्यसमिति बैठकले महोत्सवका सम्पूर्ण गतिविधि स्थगित गर्ने निर्णय गरेको संघले जनाएको छ।

संघले महोत्सवको तयारीमा संलग्न कलाकार, साहित्यकार, व्यापारी, कर्मचारी तथा सहयोगी सबैप्रति धन्यवाद व्यक्त गरेको छ। साथै महोत्सव स्थगित हुन पुगेकाले पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै दर्शक, जनप्रतिनिधि तथा सम्पूर्ण डोटीवासीप्रति आभार व्यक्त गरिएको छ।

डोटी उद्योग वाणिज्य संघले डोटीको विकास, समृद्धि र प्रगतिलाई केन्द्रमा राख्दै आगामी दिनमा समयानुकूल नयाँ कार्यक्रम सार्वजनिक गरिने प्रतिबद्धतासमेत जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस