के धनगढीमा गुरुकुल परम्परा विश्वविद्यालय सम्भव छ ?
-प्रेम राज अवस्थी
न्युयोर्क टाइम्समा २०२६ जनवरी १ मा प्रकाशित डेभिड डेस्टिनोको आशावादसम्बन्धी लेख पढ्दा, विश्वव्यापी निराशा र अनिश्चितताबीच आध्यात्मिक चेतनाको अपरिहार्यतालाई औँल्याएको पाए। उक्त लेखले शान्ति अन्ततः आध्यात्मिक चिन्तनमै छ भन्ने मेरो धारणालाई थप बलियो बनायो।
त्यस पछि, मेरो मन सुदूरपश्चिमतर्फ गयो। गएको दशैँमा धनगढीमा प्रत्यक्ष अनुभूत गरिएका अनुभवहरू, चिया गफका क्रममा उठेका विचारहरू र त्यहाँको सामाजिक–बौद्धिक वातावरण सम्झँदा, केही विचारहरू लिपिबद्ध गरौँ लाग्यो।
एक दशकयता धनगढी सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक, राजनीतिक तथा प्रशासनिक केन्द्रका रूपमा स्थापित भएको छ। यससँगै यहाँ शैक्षिक र आध्यात्मिक गतिविधिहरू पनि क्रमशः विस्तार भइरहेका छन्। अब, यहाँ वैदिक र आध्यात्मिक अध्ययनको लागि एक विशिष्ट विश्वविद्यालय भए हुने थियो भन्ने चाहना पाइन्छ।
हुन त नेपालमा धेरै विश्वविद्यालयहरू स्थापना भइसकेका छन्, अब संख्या भन्दा गुणस्तरमा ध्यान दिनुपर्छ भन्ने तर्क बलियो छ। २७ लाख जनसंख्या भएको सुदूरपश्चिम प्रदेशमा पनि एउटा विश्वविद्यालय छ, जसका आङ्गिक क्याम्पसहरू सहित करिब १७,००० विद्यार्थी अध्ययनरत छन्। तर, वैदिक दर्शन र आध्यात्मिक चिन्तनमा केन्द्रित, परम्परागत सांस्कृतिक ज्ञानलाई आधुनिक शिक्षासँग जोड्ने शैक्षिक प्रणालीको आवस्यकता बिधमान विश्वविद्यालयहरुले पूर्ति गर्न सक्दैनन् ।
यही सन्दर्भमा, धनगढीमा वैदिक अध्ययनसँगै आधुनिक शिक्षालाई समेट्ने, गुरुकुल परम्परामा आधारित विश्वविद्यालय स्थापना कत्तिको आवश्यक र सम्भव छ ? के यस्तो विश्वविद्यालय केवल अर्को शैक्षिक संस्था मात्र हुनेछ, वा यसले समाजको नैतिक, आध्यात्मिक तथा पर्यावरणीय पुनर्जागरणको आधार निर्माण गर्न सक्छ ? के यसले सुदूरपश्चिम मात्र होइन, सम्पूर्ण नेपाललाई शान्ति र दिगो विकासतर्फ उन्मुख गराउन योगदान दिन सक्छ ?
आज विश्व तीव्र भौतिक विकास, प्रविधिको प्रगति र उपभोगमुखी संस्कृतिको उत्कर्षमा पुगेको छ। नेपालले पनि पछिल्ला वर्षहरूमा सडक, पुल, भवन र सहरी विस्तारमा उल्लेखनीय प्रगति गरेको छ। तर विकासको यो रूपले मात्र समाजलाई सही दिशा दिन सकेको छैन। यही प्रगतिसँगै मानसिक अशान्ति, हिंसा, असहिष्णुता र प्रकृतिसँगको द्वन्द्व पनि समानान्तर रूपमा बढ्दै गएको छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभर करिब ९७ करोडभन्दा बढी मानिस कुनै न कुनै मानसिक विकारबाट पीडित छन्, जसमा डिप्रेसन सबैभन्दा सामान्य समस्या हो। नेपालमा पनि युवालगायत अन्य उमेर समूहमा तनाव, चिन्ता र उद्देश्यहीनताको समस्या गम्भीर बन्दै गएको छ।
भौतिक समृद्धिले सुविधा त दिएको छ, तर सन्तोष र आन्तरिक शान्ति दिन सकेको छैन। अझ, सुदूरपश्चिम त दोहोरो सङ्कटमा छ, एकातिर गरिबी, बेरोजगारी र पलायन, अर्कोतिर मूल्य, संस्कार र उद्देश्यको क्षय। राज्यले समाजलाई नैतिक र बौद्धिक मार्गदर्शन गर्ने संरचनामा लगानी गर्न नसकेको यथार्थता पनि यसै सन्दर्भमा जोडिन्छ।
साथै, प्रकृतिसँगको असन्तुलनले पछिल्ला पाँच दशकमा विश्वको औसत तापक्रम करिब १ डिग्री सेल्सियसले वृद्धि भइरहेको छ, जसको प्रत्यक्ष असर हिमालदेखि तराईसम्म परेको छ। सुदूरपश्चिम पनि बाढी, खडेरी, जलस्रोतको ह्रास र जैविक विविधताको सङ्कटजस्ता चुनौतीहरूबाट प्रभावित छ। यस्तो अवस्थामा प्रकृति र चेतनाबिचको सहअस्तित्व तथा ऋत–सन्तुलनको सिद्धान्त प्रतिपादन गर्ने वैदिक दर्शन प्रासङ्गिक बनेको छ।
यदि वैदिक मूल्यहरूलाई आधुनिक विज्ञान, पर्यावरणीय अनुसन्धान र सार्वजनिक नीतिसँग एकीकृत गर्न सकियो भने दिगो विकासको वैकल्पिक मोडल सम्भव हुन सक्छ। वैदिक ज्ञान, योग, ध्यान र अहिंसामूलक जीवनदर्शनले व्यक्तिको अन्तर्मन सन्तुलित गर्न, समाजलाई सहिष्णु र प्रकृतिसँग मैत्री बनाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।
जलवायु सङ्कटको युगमा वैदिक जीवनदर्शन समाधानको एक आधार बन्न सक्छ। साथै, गुरुकुल परम्परामा आधारित शिक्षालाई आधुनिक विज्ञान र प्रविधिसँग जोड्दा युवाहरूमा बलियो नैतिक र बौद्धिक आधार प्रदान गर्न सकिन्छ।
नेपालका युवाहरू अवसरको अभावका कारण ठुलो सङ्ख्यामा पलायन भइरहेका छन्। यहाँ केवल श्रम पलायन भइरहेको छैन, चेतना, नेतृत्व र भविष्यको पनि पलायन भएको छ।
यदि वैदिक अध्ययनसँगै प्रविधि, व्यवस्थापन, उद्यमशीलता र नीति–अध्ययनलाई समेटेर स्वदेशमै अवसर सिर्जना गर्न सके, हाल भइरहेको ‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्न सकिन्छ कि ?
सुदूरपश्चिमको सांस्कृतिक र आध्यात्मिक परम्परा, प्रकृति संगको सामिप्यता तथा सामुदायिक भावना जस्ता मौलिक सामाजिक पुँजीलाई ज्ञान, अनुसन्धान र नीतिगत संवादसँग प्रभावकारी रूपमा जोड्न सके सुदूरपश्चिमले विशिष्ट पहिचान निर्माण गर्न सक्छ। यही सम्भावनालाई मूर्त रूप दिन प्रदेशको केन्द्र धनगढीमा गुरुकुल परम्परामा आधारित विश्वविद्यालय स्थापना गर्नु समयसापेक्ष र सम्भव देखिन्छ।
विगतमा सुदूरपश्चिम विश्वविद्यालय धनगढीमा हुनुपर्ने मागसहित भएका आन्दोलनहरूले पनि यस सहरलाई शैक्षिक गन्तव्य बनाउने स्थानीय चाहना पुष्टि गर्दछ। गेटामा सुरुवात हुन गैरहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले यस क्षेत्रलाई शैक्षिक केन्द्र बनाउने दिशामा थप ऊर्जा दिएको छ।
धनगढीको हरिद्वार र दिल्लीजस्ता वैदिक ज्ञान केन्द्रहरूसँगको निकटता, साथै खप्तड, शैलेश्वरी, बैजनाथ, उग्रतारा र निगलासैनी जस्ता आध्यात्मिक क्षेत्रहरूको ‘गेटवे’ भएकोले गुरुकुल परम्परामा आधारित विश्वविद्यालयले यी स्थानहरूलाई ज्ञान–पर्यटन र साधना–मार्गसँग जोड्दै प्रदेशलाई आध्यात्मिक पर्यटनको हबका रूपमा विकास गर्न सकिन्छ।
प्रदेश सरकार र स्थानीय तहको सहकार्यमा गुरुकुल परम्परामा आधारित विश्वविद्यालय स्थापना अघि बढाउन सरकारी बजेटसँगै एन्डोमेन्ट फन्ड र वैदिक परम्परामा आधारित, भूमि दान, गौशाला, कृषि, योग–ध्यान कार्यक्रम, प्रकाशन तथा ज्ञान–पर्यटनलाई आय–आर्जनका स्रोतका रूपमा विकास गर्न सकिन्छ। भारतका केही गुरुकुलहरूले यस्तै मिश्रित वित्तीय मोडलमार्फत आत्मनिर्भरता हासिल गरेका उदाहरणहरू छन्।
पाँचदेखि दस वर्षको स्पष्ट रोडम्यापसहित पूर्ण रूपमा गुरुकुल परम्परामा आधारित विश्वविद्यालय स्थापना गर्न सकिन्छ। यसले वेद, उपनिषद्, दर्शन, व्याकरण र आयुर्वेदलगायत शान्ति, अहिंसा, असमानता, पर्यावरणीय सङ्कट र नैतिक पतनजस्ता समकालीन समस्यामाथि वैदिक दृष्टिकोणबाट विमर्श र अनुसन्धान गर्ने सशक्त थलोको रूपमा काम गर्न सक्छ। नीति–निर्माता, विद्वान, युवा र साधकबिच संवाद र सहकार्य मार्फत यस्तो विश्वविद्यालयले सुदूरपश्चिमलाई विचार र बौद्धिक चिन्तनको हबमा रूपान्तरण गर्न सक्छ।
यो पहल केवल भवन, जनशक्ति र पाठ्यक्रममा गरिने लगानी मात्र नभएर भावी सन्तति र समाजको समग्र भविष्यका लागि गरिने दीर्घकालीन लगानी हुने छ। यसले सुदूरपश्चिमका लागि मात्र नभई सम्पूर्ण नेपालका लागि नै अनुकरणीय नमुना प्रस्तुत गर्न सक्छ र सुदूरपश्चिम लाई शान्ति र समृद्धिको नयाँ अध्याय लेख्दै, आफ्नो विशिष्ट पहिचान स्थापित गर्न सघाउने छ।
( यदि यस लेखसम्बन्धी कुनै टिप्पणी वा जिज्ञासा भएमा कृपया प्रेम राज अवस्थी लाई [email protected] मार्फत सम्पर्क गर्नुहोला )
