सभापतिमा उम्मेदवारी दिन्छु : महामन्त्री थापा

द एभरेष्ट पोष्ट
२१ मंसिर २०८२ ११:५०
सभापतिमा उम्मेदवारी दिन्छु : महामन्त्री थापा

सर्लाही। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने बताएका छन् ।

नेपाल प्रेस युनियन सर्लाहीले शनिबार बिहान सदरमुकाम मलङ्गवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा थापाले आफू सभापतिको उम्मेदवार हुने घोषणा गरेका हुन् । “यो पटक पार्टीका साथीहरुले नयाँ नीति, नयाँ सन्देशसँगै नयाँ नेतृत्व छान्नुहुन्छ भन्नेमा म विश्वस्त छु,” थापाले भने, “१५ औँ महाधिवेशनमा म सभापतिको प्रत्यासी हो ।”

कांग्रेस महामन्त्री थापाले फागुन २१ को प्रतिनिधिसभा निर्वाचन अघि नै पार्टीको महाधिवेशनमा जानुपर्ने स्थिति बनेको बताए । बिचको केही समय छलफल र बहसमा खेर फाले पनि अब छोटो समयमा पार्टीको महाधिवेशन सम्पन्न गरेर फागुन २१ को निर्वाचनमा सरिक हुने निर्णय गरिएको कांग्रेस महामन्त्री थापाको भनाइ छ ।

पार्टीको महाधिवेशन र निर्वाचनको तयारीसँगसँगै अघि बढाइएको थापाले बताए । कांग्रेस महामन्त्री थापाले वर्तमान सरकारले फागुन २१ मा चुनाव गराउने विश्वास व्यक्त गरे ।

चुनावले संविधानमाथिको क्षति थप बढ्न नदिने उनको भनाइ छ । “नेपाली कांग्रेसको तर्फबाट फागुन २१ को निर्वाचनप्रति हामी पूर्ण प्रतिवद्ध छौँ,” महामन्त्री थापाले भने, “दलहरु तयार भइसकेकाले सरकार पनि सम्पूर्ण संसय हटाएर निर्वाचन गराउने गरी अघि बढ्नुपर्छ ।”

थापाले जेनजी आन्दोलनपछि फरार रहेका कैदीबन्दी र लुटिएका हतियार निर्वाचनका लागि चुनौति हुन सक्ने कुरा सरकारलाई अवगत गराइएको बताए । उनले सबै समूह र राजनीतिक दलले चुनावमा भाग लिन पाउनुपर्ने माग शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीले राखेको सर्वदलिय बैठकमा राखिएको बताउनुभएको छ ।

कांग्रेस महामन्त्री थापाले आफू यो पटक पनि काठमाडौँबाटै चुनाव लड्ने बताए । सर्लाहीको क्षेत्र नं. ४ बाट यसअघिको निर्वाचनमा समेत चुनाव लड्न प्रस्ताव आए पनि पार्टीभित्र प्रायः आफ्नै क्षेत्रबाट चुनाव लड्ने परिपाटी रहेकाले आफू अहिलेकै निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धी हुने कांग्रेस महामन्त्री थापाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस