एनपिएल उद्घाटन खेलका लागि खुला गरिएको १० हजार टिकट तीन दिनअघि नै ‘सोल्डआउट’

द एभरेष्ट पोष्ट
१२ मंसिर २०८१ १०:२०
एनपिएल उद्घाटन खेलका लागि खुला गरिएको १० हजार टिकट तीन दिनअघि नै ‘सोल्डआउट’

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) आगामी शनिबार सुरू हुँदैछ। नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक आफैँ आयोजना गर्न लागेको टी-२० फ्रेञ्चाइज लिगको चर्चा चुलिएको छ।

शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानका हुने उद्घाटन खेलका लागि क्यानले खुला गरेको १० हजार टिकट तीन दिनअघि बिक्री भएको छ।

विराटनगर किंग्स र जनकपुर बोल्टबीच हुने उद्घाटन खेलका लागि भाइआइपीतर्फ ८ सय टिकट बिक्री भएको क्यानका प्रवक्ता छुम्बी लामाले बताए। खल्ती एपबाट टिकट बिक्री खुला गरिएकोमा साधारण टिकट पनि सबै बिक्री भएको उनको भनाइ छ।

क्यानले अरु दिन भने १३ हजार टिकट बिक्री गर्ने योजना बनाएको छ।

पहिलो दिन साधारणतर्फ ३ सय र भिआइपीतर्फ ७ सय रूपैयाँ टिकट दर तोकिएको थियो। पहिलो दिनमा नै टिकट बिक्रीबाट क्यानले ३३ लाख रूपैयाँ बढी कमाइसकेको छ।

क्यानले अरू दिनका लागि टिकट बिक्री सुरु गरिसकेको छ। अरू दिनको पनि टिकट किन्नेको चाँप बढेको प्रवक्ता लामाले बताए।

लिग खेलको ३ सय र ५ सय टिकट मूल्य तोकिएको छ। लिग खेलमा एउटा टिकटले दिनको दुबै खेल हेर्न सकिनेछ। प्लेअफको ५ सय र ७ सय रुपैयाँ टिकट मूल्य तोकिएको छ।

फाइनल खेलको ५ सय र एक हजार रुपैयाँ टिकट मूल्य छ।

सिजनल पासको लागि साधारणतर्फ ४४ सय ८० रुपैयाँ र भिआइपीतर्फ ८२ सय ४० रुपैयाँ मूल्य तिर्नुपर्नेछ।

मंसिर र १५ देखि पुस ६ गतेसम्म कीर्तिपुर स्थित त्रिवी मैदानमा हुने प्रतियोगितामा ८ फ्रेन्चाइज टिमबीच प्रतिस्पर्धा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस