डा. केसीको उपचारमा स्वास्थ्यमन्त्रीको चासो, शिक्षा मन्त्रालयको वार्ता टोली आउँदै

द एभरेष्ट पोष्ट
९ साउन २०८३ १६:४४
डा. केसीको उपचारमा स्वास्थ्यमन्त्रीको चासो, शिक्षा मन्त्रालयको वार्ता टोली आउँदै

धनगढी ।  बिहीबारदेखि पाँचबुँदे माग राख्दै २४औँ सत्याग्रहमा बसेका डा.गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले उपचार व्यवस्थापनमा चासो राखेकी छन् ।

मन्त्री मेहताले सेती प्रादेशिक अस्पतालका प्रमुख चिकित्सा अधिकृत डा.हेमराज पाण्डेसँग संवाद गरी उपचारको प्रभावकारी व्यवस्थापन र आवश्यक समन्वय गर्न निर्देशन दिएकी छन् ।

यसैक्रममा मन्त्रालयका प्रमुख सल्लाहकार डा.मनोहर प्रधानले पनि अस्पताल प्रशासनसँग समन्वय गरी डा.केसीको स्वास्थ्य अवस्था, उपचार प्रक्रिया तथा आवश्यक व्यवस्थापनबारे जानकारी लिएका छन् ।

डा.केसीको हालको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै अस्पतालमा लामो समय राख्नु उपयुक्त नहुन सक्ने चिकित्सकहरूको सुझाव रहेकाले आवश्यक परे थप उपचारका लागि वैकल्पिक व्यवस्थाको तयारीसमेत अघि बढाइएको छ ।

मन्त्रालयले उपचारको अवस्थाको निरन्तर निगरानी गरिरहेको जनाएको छ । डा. केसीलाई धनगढी उपमहानगरपालिका–१ स्थित कृष्ण मन्दिर धर्मशालाबाट शनिबार सेती प्रादेशिक अस्पतालको आईसीयूमा सारिएको हो ।

यसैबीच, डा.केसीका मागका विषयमा छलफल गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयका प्रतिनिधि सम्मिलित वार्ता टोली आजै धनगढी जाने तयारी भएको मन्त्रालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस