नेपाल–भारत पक्की पुल सञ्चालनमा ढिलाइ
दार्चुला। दार्चुलास्थित महाकाली नदीमाथि निर्माण गरिएको नेपाल–भारत जोड्ने पक्की पुल सञ्चालनमा ढिलाइ भएको छ । पुल निर्माण पूर्ण रूपमा पूरा भएर नेपालतर्फको १३० मिटर मुख्य सडक निर्माण पनि अन्तिम चरणमा रहेको स्थानीयले बताएका छन् । नेपालतर्फको सडक निर्माण गरिरहेको कम्पनीका सबइन्जिनियर हेम पाण्डेका अनुसार सडकमा ढलान भइरहेको र सो काम आगामी अगस्तमा सकिने छ ।
करिब ११० मिटर लम्बाइको दुई लेनको यो पुल दार्चुलाको महाकाली नगरपालिका–८, असिगडा र भारतको धार्चुला तहसिल अन्तर्गतको छारछुम क्षेत्रमा पर्छ । स्थानीय जिप व्यवसायी नरेश भट्टले निर्माण पूरा भइसकेको पुल सञ्चालन गर्नुपर्ने बताए । उनले भने, “यहाँको व्यापार, पर्यटन क्षेत्रलाई माथि उठाउन दुई देशको सीमामा बनेको पुल यथाशीघ्र सञ्चालन गर्नु जरुरी छ ।”
दार्चुलाका प्रतिनिधि सभा सदस्य गणेशसिंह ठगुन्नाले निर्माण पूरा भएर सञ्चालनको पर्खाइमा रहेको पुल नेपालतर्फ आवश्यक पूर्वाधार निर्माण गरी छिटो सञ्चालनका लागि सरकारको ध्यानाकर्षण गरिरहेको बताए ।
आव २०७९/८० को असोज ३ गते तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले संयुक्त रूपमा पुल निर्माणको शिलान्यास गरेका थिए । पुलनजिक नेपालतर्फका सरकारी कार्यालय भन्सार, क्वारेन्टाइन, सशस्त्र प्रहरी र नेपाल प्रहरी बस्ने संरचना निर्माण गर्न बाँकी रहेको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीले जानकारी दिए । सम्झौता अनुसार पुल निर्माण २०२३ अक्टोबरमा सक्नुपर्ने भए पनि थप काम गर्नुपर्ने भएपछि निर्माण लम्बिएको सबइन्जिनियर पाण्डेले बताए।
पुलको निर्माण भारतीय कम्पनी पी एन्ड आर इन्फ्राप्रोजेक्ट लिमिटेड पन्जाबले गरेको थियो । यो पुलले दुई देशबिचको व्यापारिक, पर्यटकीय र सांस्कृतिक पक्षमा महìवपूर्ण टेवा पुग्ने दार्चुला उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेशसिंह थापाले बताए। पुल सञ्चालनमा आएपछि दार्चुला, बैतडी, बझाङलगायत सुदूरपश्चिमका पहाडी जिल्लाका साथै भारत र चीनसम्मको व्यापार दार्चुलाको नाकाबाट हुन सक्ने जिल्ला समन्वय समिति प्रमुख महादेव बडूले बताए ।
