प्रधानन्यायाधीश नियुक्तिमा सरकारले जालझेल गर्दैछ : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानन्यायाधीश नियुक्तिमा सरकारले जालझेल गर्न खोजेको आरोप लगाएका छन् ।
पार्टी संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । आफूले प्रस्ताव गरेको पात्रलाई नै संवैधानिक परिषद्बाट अनुमोदन गराउन रास्वपा नेतृत्वको सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको उनले बताए । ”प्रधानन्यायाधीश कसलाई बनाउने भन्नेमा रास्वपाले एउटा सोच बनाएको छ । आफूले गोजीबाट प्रस्ताव गरेको पात्रबारे निर्णय गराउन जालझेल गरिएको छ,” उनले भने ।
संवैधानिक परिषद्माथि नियन्त्रण राख्नका लागि संसद् आह्वान गर्ने र स्थगित गर्ने प्रपञ्च रचिएको उनको आरोप छ । यसअघिको प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यस्तै कार्य गर्दा कांग्रेसले रोकेको बताउँदै उनले हाल कांग्रेस रोक्ने स्थितिमा नरहेको बताए । ”अहिले अध्यादेश जारी भइसकेको छ । हामीले यस्ता गतिविधि रोक्न सकेनौँ,” उनले भने ।
बालेन सरकारको शैली पनि अघिल्लो सरकारको भन्दा फरक नरहेको उनको भनाइ छ ।
संसद् स्थगित गर्दै अध्यादेश जारी गरेर संवैधानिक परिषद्मा नियन्त्रण राख्ने सरकारको कदम आपत्तिजनक रहेको थापाले बताए ।
नियुक्तिमा सरकार प्रमुखको मनोमानी नचलोस् भनेरै संवैधानिक परिषद्मा सन्तुलन कायम गरिएको उनको भनाइ छ ।
सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्दै चार जनाको उपस्थितिलाई गणपूरक संख्या मान्ने र तीन जनाको समर्थनलाई बहुमत मान्ने प्रबन्ध गरेको छ । संवैधानिक परिषद् ६ सदस्यीय छ ।
