सरकारले फेरि दोहोर्‍यायो: स्वास्थ्य बिमा अन्तर्गतका औषधि नगदमा खरिद गर्न नलगाउनूस्

द एभरेष्ट पोष्ट
२३ चैत २०८२ १८:४२
सरकारले फेरि दोहोर्‍यायो: स्वास्थ्य बिमा अन्तर्गतका औषधि नगदमा खरिद गर्न नलगाउनूस्

काठमाडौं ।  स्वास्थ्य बिमा बोर्डले बिमा सेवाका विभिन्न प्याकेजभित्र समावेश हुने औषधि तथा औषधिजन्य सामग्रीहरू बीमितलाई नगदमा खरिद गर्न लगाइएको गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बोर्डले औषधि तथा औषधिजन्य सामग्रीहरू खरिद गर्न नलगाउन पुनः सम्बन्धित संस्थाहरूलाई निर्देश गरेको छ। बोर्डले सोमबार विज्ञप्ति प्रकाशित गरी भनेको छ, ‘स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत सेवा प्रवाहका सम्बन्धमा केही सेवा प्रदायक स्वास्थ्य संस्थाहरूले बीमितहरूसँग बिमा सेवाका विभिन्न प्याकेजभित्र समावेश हुने औषधि तथा औषधिजन्य सामग्रीहरू समेत सोही सेवा प्रदायक स्वास्थ्य संस्था वा बाह्य औषधि पसलबाट नगदमा खरिद गर्न लगाएको भन्ने ब्यापक गुनासाहरू प्राप्त भएको’ जनाएको छ।

विज्ञप्तिमा ‘यस्ता कार्य नगर्न हुन तथा गरेको पाइएमा स्वास्थ्य बिमा नियमावली, २०७५ को नियम १९ को उपनियम (१) को खण्ड (क) बमोजिम कारबाही हुने’ समेत चेतावनी दिएको छ। त्यसैगरी, केही सेवा प्रदायक स्वास्थ्य संस्थाहरूले बीमितलाई स्वास्थ्य बीमा मार्फत सेवा लिन अग्रिम समय लिनुपर्ने तथा बीमितहरूप्रति भेदभावपूर्ण व्यवहार गर्ने गरेको गुनासोप्रति पनि बोर्डले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

साथै, औषधि, औषधिजन्य सामग्रीहरू तथा सम्पूर्ण सेवाहरूको दररेट बिमा सुविधा थैलीमा उल्लेखित दररेटभन्दा कम भएमा अस्पतालकै न्यूनतम दरमा दाबी गर्नुपर्ने व्यवस्था रहेको र सो दाबीहरू एपीआई मार्फत बिमा व्यवस्थापन सूचना प्रणालीमा क्लेम गर्न मिल्ने भएकाले सोही अनुसार अनिवार्य कार्य गर्न/गराउनसमेत अनुरोध गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस