३५ वर्षयताकै सबैभन्दा बढी मत यसपालि बदर
काठमाडौँ — यसपालि प्रतिनिधिसभा निर्वाचनमा बदर मत प्रतिशत अघिल्ला चुनावहरूभन्दा बढी देखिएको छ । निर्वाचनमा अपनाइएका दुई प्रणालीमध्ये समानुपातिकमा भन्दा प्रत्यक्षमा बढी मत बदर भएको छ । निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ १ करोड ८९ लाख ३ हजार ६ सय ८९ कुल मतदातामध्ये १ करोड ११ लाख ६८ हजार ३२ जना अर्थात् ५९.०८ प्रतिशतले मतदान गरेका थिए । खसेको मतमध्ये ६ लाख ९ हजार १५ मत (५.४५ प्रतिशत) बदर भएको छ । समानुपातिकतर्फ ४.१० प्रतिशत मत बदर भएको छ । १ करोड १३ लाख १२ हजार ४ सय ५५ मत (५९.८४ प्रतिशत) खसेकामा ४ लाख ६३ हजार ३ सय ७३ मत बदर भएको हो ।
आयोगले निर्वाचन शिक्षा शीर्षकमा यस पटक २५ करोड खर्चको अख्तियारी पाएको थियो । आयोगले हरेक वडामा स्वयंसेवक परिचालन गरेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो । वडा तहमा त्यसरी स्वयंसेवक परिचालन गर्दा मात्र ७ करोड ४६ लाख रुपैयाँ खर्च भएको छ । त्यसबाहेक मतदाता शिक्षाका लागि डिजिटल प्लाटफर्म तथा सार्वजनिक सञ्चारमाध्यम, पर्चा पम्प्लेट, नमुना मतपत्र छपाइमा ठूलो धनराशि खर्च भएको छ । बदर मत घटाउन तथा मतदान प्रतिशत बढाउन मतदाता शिक्षाले योगदान गर्ने विश्वास गरिन्छ । तर विगतको तुलनामा बदर मत बढेको छ, मतदान प्रतिशत घटेको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन नतिजाको सम्पूर्ण तथ्यांकको अध्ययन र विश्लेषण भइनसकेकाले अहिले नै त्यसबारे टिप्पणी नगर्ने बताए । ‘समानुपातिकतर्फ विगतको तुलनामा बदर मत प्रतिशत घटेको बुझेको छु । प्रत्यक्षतर्फ विगतका चुनावमा जस्तै अवस्था छ,’ उनले भने, ‘बदर मत घटाउन मतदाता शिक्षामार्फत हरसम्भव प्रयास गरिएको हो । त्यसले केही प्रतिफल पनि दिएको छ तर के कस्तो प्रतिफल आयो वा आएन, तथ्यांकहरूको अध्ययन र विश्लेषणपछि मात्रै त्यसबारे टिप्पणी गर्न सक्छौं ।’
२०७९ को चुनावमा प्रत्यक्षतर्फ ५.०६ प्रतिशत मत बदर भएको थियो । १ करोड ७९ लाख ८८ हजार ५ सय ७० कुल मतदातामध्ये १ करोड १० लाख ४७ हजार ३४ (६१.४१ प्रतिशत) मतदान भएको थियो । त्यसमध्ये ५ लाख ५९ हजार ७६ मत बदर थियो । त्यस्तै समानुपातिकतर्फ ५ लाख ६६ हजार १ सय ४४ अर्थात् ५.०९ प्रतिशत मत बदर भएको थियो । त्यति बेला पनि मतदाता शिक्षामा २५ करोड रुपैयाँ खर्च गरिएको थियो ।
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ ५.१७ प्रतिशत मत बदर भएको थियो । कुल १ करोड ५४ लाख ७९ हजार ३८ मतदातामध्ये १ करोड ५ लाख ९४ हजार ४४ मतदाता (६८.६६ प्रतिशत) ले मतदान गरेका थिए । त्यसमध्ये ५ लाख ४८ हजार ५ सय ७० मत बदर भएको थियो । खसेको मतमा समानुपातिकतर्फ ९५ लाख ४४ हजार ७ सय ७९ मत मात्रै सदर भएको थियो । त्यस बेला समानुपातिकतर्फ ठूलो संख्यामा मत बदर भएको थियो । आयोगले २०७४ को नतिजा प्रतिवेदनमा समानुपातिकतर्फको बदर मतको प्रतिशत सार्वजनिक गरेको छैन । खसेको मत र सदर मतबीचको अन्तर १० लाख ४९ हजारको देखिन्छ । समानुपातिकतर्फ बदर भएको मत ९.९० प्रतिशत देखिन्छ ।
