प्रधान सेनापति खुला म्याराथन सम्पन्न
काठमाण्डौ- यस वर्षको ‘प्रधान सेनापति खुला म्याराथन प्रतियोगिता २०८२’ आज सम्पन्न भएको छ । नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रद्वारा सैनिक मुख्यालयमा आज आयोजित समारोहमा प्रतियोगिताको प्रधानसेनापति अशोकराज सिग्देलले उद्घाटन गरे ।
प्रतियोगिताका लागि यस वर्ष ‘बलियो एकता, सुरक्षित राष्ट्र’ भन्ने नारा तय गरिएको थियो । प्रतियोगिताअन्तर्गत ४२.१९५ किलोमिटर दूरीको पुरुष म्याराथन तथा महिला र पुरुष विधाको २१ किलोमिटर दूरीको हाफ म्याराथन भयो ।
म्याराथनमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने धावकलाई आजै क्रमशः तीन लाख, दुई लाख र एक लाख नगद पुरस्कार प्रदान गरिने छ । हाफ म्याराथनमा पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने महिला र पुरुष दुवै विधाका खेलाडीलाई जनही क्रमश : एक लाख, ७५ हजार र ५० हजार प्रदान गरिनेछ ।
सैनिक अधिकृत, सैनिक सहचारी, सैनिक महाविद्यालय कार्यरत कर्मचारी, सेनाका अवकाश प्राप्त तथा सेवारत सकल दर्जा र गैरसैनिकका कक्षा १० देखि १२ मा अध्ययनरत सन्तानको सहभागितामा १० किलाेमिटर दूरीको दौड आयोजना भएको भयो । पाँच किलोमिटर दूरीको वाकाथनमा प्रधानसेनापति सिग्देललगायत सैनिक तथा गैरसनिक व्यक्ति सहभागी भएका थिए ।
सैनिक महाविद्यालयमा अध्ययनरत कक्षा ७ देखि ९ सम्मका छात्रछात्रा सम्मिलित पाँच किलोमिटर दूरीको दौड पूरा गरे । दश किलोमिटर र पाँच किलोमिटर दौडमा प्रथम, द्वितीय र तृतीय हुने महिला र पुरुष विधाका धावकलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ नगद प्रदान गरिने छ ।
२०७२ सालदेखि हरेक वर्ष महाशिवरात्री तथा सेना दिवसका अवसरमा आयोजना हुँदै आएको यस ११ संस्करणको प्रतियोगितामा विभिन्न पाँच विधामा झन्डै ३ हजार ५ सय धावकको सहभागिता थियो । यस वर्ष महाशिवरात्री तथा सेना दिवस आउँदाे फागुन ३ गते परेको छ ।
