धनगढीमा सुविधासम्पन्न क्रिकेट मैदान निर्माण सुरु, तीन महिनाभित्र सञ्चालनमा ल्याइने

द एभरेष्ट पोष्ट
२१ माघ २०८२ १७:४८
धनगढीमा सुविधासम्पन्न क्रिकेट मैदान निर्माण सुरु, तीन महिनाभित्र सञ्चालनमा ल्याइने

काठमाडौं । ‘सिटी अफ क्रिकेट’ को उपमा पाएको धनगढीमा नयाँ सुविधासम्पन्न क्रिकेट मैदान निर्माण सुरु भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर–३ स्थित फाप्ला मैदान नजिकै करिब ५ बिगाह क्षेत्रफलमा निर्माण हुन लागेको उक्त मैदानको सोमबार विधिवत् शिलान्यास गरिएको हो।

मैदानका सञ्चालक सुवास शाही र मोहन साउँदले संयुक्त रूपमा शिलान्यास गरेका हुन्। ‘धनगढी ओभल’ नाम दिइएको यस मैदानमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार ६ वटा पिच रहनेछन्। मैदानको बाउन्ड्री न्यूनतम ६५ मिटरदेखि अधिकतम ७५ मिटरसम्म रहने सञ्चालक सुवास शाहीले जानकारी दिए।

मैदान सम्याउने तथा पर्खाल निर्माणको काम सम्पन्न भइसकेको र सोमबारदेखि पिच निर्माण सुरु गरिएको छ। आगामी तीन महिनाभित्र सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम तीव्र रूपमा अघि बढिरहेको छ। पिच निर्माणदेखि अन्य प्राविधिक काम रुपन्देहीस्थित एष्ट्रोटेक ओभल क्रिकेट मैदान निर्माण गरिसकेका अन्तर्राष्ट्रिय पिच क्युरेटर माधव पाठकको प्राविधिक नेतृत्वमा भइरहेको छ।

शिलान्यासपछि बोल्दै सुवास शाहीले धनगढीमा क्रिकेट गतिविधि अझ चलायमान बनाउन यो मैदानले महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले ठूलो लगानीमा निर्माण हुन लागेको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानको काम पनि इआइए स्वीकृतिसहित अघि बढिसकेको उल्लेख गर्दै त्यसको निर्माण नहुने भन्ने आशंका गर्नुपर्ने अवस्था नरहेको स्पष्ट पारे। फाप्ला मैदानमा ठूला प्रतियोगिता आयोजना गर्दा सहायक मैदानको आवश्यकता पर्ने भएकाले निजी लगानीमा यो मैदान निर्माण गरिएको शाहीको भनाइ छ।

मैदान निर्माण तीन चरणमा गरिनेछ। पहिलो चरणमा पिच निर्माण, सिँचाइ तथा ड्रेनेज प्रणाली जडान गरिनेछ। दोस्रो चरणमा पेभेलियन, चेन्जिङ रुम तथा नेट अभ्यासस्थल निर्माण हुनेछ भने तेस्रो चरणमा प्यारापिट निर्माण, फ्लडलाइट जडान र मैदान बाहिरी क्षेत्रमा फुड कर्नरसहित विभिन्न व्यावसायिक स्टलहरू स्थापना गरिनेछन्।

पूर्व खेलाडीसमेत रहेका सुवास शाही विगत डेढ दशकदेखि निरन्तर क्रिकेट गतिविधिमा सक्रिय छन्। एसपिए कपमार्फत व्यावसायिक क्रिकेट यात्रा सुरु गरेका शाहीले नेपालमै पहिलोपटक अक्सन प्रणालीमा आधारित धनगढी क्रिकेट लिग हुँदै धनगढी प्रिमियर लिग (डिपिएल) आयोजना गरेका थिए। पछिल्लो समय उनले अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता पनि आयोजना गर्दै आएका छन्।

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण तथा खेलग्राम विकास समितिका अध्यक्षसमेत रहेका शाही यस क्षेत्रकै अग्रणी शैक्षिक संस्था एसपीए कलेजका प्रबन्ध निर्देशक हुन्।

एसपीए कलेजले क्रिकेटर शेर मल्ल, कविता कुँवर र नारायण जोशीलाई ब्रान्ड एम्बासडर बनाएको छ भने एसपिए कलेजकै स्वामित्वमा रहेको ब्रेड बक्स क्याफेले सिनियर क्रिकेटर विनोद भण्डारीलाई ब्रान्ड एम्बासडर बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस