आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल नेपालमा न्यून चापिय प्रणालीको प्रभाव रहको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरूमा वर्षा भएको छ।
दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ।
पूर्वी तथा मध्य तराई भू-भागका थोरै स्थानहरूमा बिहानीपख हुस्सु रहनेछ । आइतबार राति सुदूरपश्चिम प्रदेश लगायत पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।राति नै कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ।
