पूर्वी र मध्य नेपालमा आज र भोलि ठुलो वर्षाको सम्भावना
काठमाडाैं । पश्चिममा केन्द्रित रहेको मनसुनी वर्षा आज (आइतबार)बाट पूर्वी र मध्य नेपालमा सिफ्ट हुने देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दुई दिन कोशी, मधेश, बागमती र गण्डकी तथा लुम्बिनीका पूर्वी क्षेत्रकेन्द्रित वर्षाको सम्भावना छ । त्यसमा पनि कोशी, मधेश, बागमती र गण्डकीका पहाडी भूभागमा अति भारी तथा तराईका केही स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ ।
मौसमविद् रोजन लामिछानेले लुम्बिनीका पश्चिमी भूभागसँगै कर्णाली र सुदूरपश्चिममा तुलनात्मक रूपमा कम पानी पर्ने देखिएको बताए । ‘पानी त देशभर पर्छ, तर मनसुनको न्यूनचापीय रेखा पूर्वमा नेपालको तराई नजिक आउँदै छ । यसले आइतबारबाट पूर्वी र मध्य नेपालमा अलि बढी पानी पर्ने देखिन्छ,’ उनले भने, ‘मधेशमा पनि पानी पर्छ । त्यहाँका केही ठाउँमा ठुलो पानी पर्ने सम्भावना छ ।’
विभागका अनुसार आइतबार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराईका धेरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षा हुनेछ । तर, मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा ठुलो वर्षाको सम्भावना पनि छ ।
विभागले वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने, बाढी, पहिरो र डुबानको जोखिम रहने भएकाले उच्च सतर्कता अपनाउन तथा आवश्यक सावधानीका साथ यात्रा गर्न आग्रह गरेको छ ।
