रेशम चौधरीको उम्मेदवारी खारेज

द एभरेष्ट पोष्ट
९ माघ २०८२ १९:१५
रेशम चौधरीको उम्मेदवारी खारेज

काठमाडौँ, ८ माघ ।
निर्वाचन आयोगले कैलाली क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेदवार रेशम चौधरीको उम्मेदवारी खारेज गरेको छ ।
नागरिक उन्मुक्ति पार्टी नेपालबाट उम्मेदवारी दिएका चौधरीका विरुद्ध परेको उजुरी जाँचबुझ गरे पछि आयोगले उनको उम्मेदवारी खारेज भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले सुनसरी जिल्ला निर्वाचन क्षेत्र नम्बर २ का एक, रौतहट जिल्ला क्षेत्र नम्बर १ का एक, भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं. २ का दुई वटा उजुरीको भने दाबी नपुगेको बताएका छन् ।

रौतहटको उजुरी बुधबार नै दरपीठ भई उम्मेदवारी कायम रहेको आयोगले जनाएको छ । उम्मेदवारमाथि बुधबार दिउँसो ३ बजेदेखि जाँचबुझ सुरु भएको थियो ।

आज बेलुका ५ बजेसम्म उजुरीमाथि जाँचबुझ गरिएको हो । अब नाम प्रकाशित गर्ने प्रक्रियामा रहेको उनले बताए । आज बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन कार्यक्रम रहेको छ । माघ ९ गते शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ ।

माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको जनाइएको छ । शुक्रबार ७७ मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ निर्वाचन अधिकृतको कार्यालयमा तीन वटा कार्यक्रम तय गरिएको जानकारी उनले गराए ।

देशभरका ७७ मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन अधिकृतको कार्यालयबाट आयोगमा प्राप्त जानकारीअनुसार पुरुष ३०८८, महिला ३९६ र तेस्रो लिङ्गी एक गरी तीन हजार ४८६ को उम्मेदवारी कायम भएको आयोगले जनाएको छ । यीमध्ये चार जिल्लाका पाँच उम्मेदवारमाथि उजुरी परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस