गायक प्रविण भट्टराईको तेस्रो गीत ‘खुशी म हुन्छु’ बजारमा

द एभरेष्ट पोष्ट
६ माघ २०८२ २३:५५
गायक प्रविण भट्टराईको तेस्रो गीत ‘खुशी म हुन्छु’ बजारमा

क्यालिफोर्निया, ५ माघ ।
गायक प्रविण भट्टराईले आफ्नो तेस्रो गीत ‘खुशी म हुन्छु’ सार्वजनिक गरेका छन् ।

‘आमालाई नभन्नु’ र ‘तिमी र म’ पछि गीतको सफलतापछि भट्टराईले आईतवार ‘खुशी म हुन्छु’ गीत सार्वजनिक गरेका हुन् ।
क्यालिफोर्नियामा संगीतका पारखी र शुभेच्छुकहरुका माझमा आईतवार राति राति ८ बजे ‘खुशी म हुन्छु’ सार्वजनिक गरेका भट्टराईले सोही समयमा आफ्नो अफिसियल युट्युव च्यानलमा म्युजिक भिडिओ पोष्ट गरे ।

गीतकार अनिल शर्माको रचनामा भट्टराईले स्वर दिएको यो गीतमा कल्याण सिंहले संगीत भरेका छन् । प्रेममा परेको एक युवकले आफ्नो खुशी गीत मार्फत व्यक्त गरेका छन् । त्यही गीतमा प्रविणले मिठो स्वर दिएका छन् ।

प्रियमान्छेको साथले खुशी नहोला को होला ? त्यही प्रिय मान्छेको छातीमा अडेस लगाएर निर्धक्क निदाउन पाए, किन कोही याद गरोस बिगत र भविश्य ? हो उनी त्यही प्रिय मान्छेको साथमा रमाउछन् । उनलाई बर्तमान मिठो लाग्छ ।

साथमा प्रिय मान्छे भए के चाहियो ? न हिजोको पीर । न भोलिको चिन्ता । उनी उन्मुक्त भएर गाउछन्, मिठो गीत ।

हो, जब प्रिय मान्छलाई हातमा डो¥याउदै निस्किन्छन्, अनन्त यात्रामा । उनी हिजोको पीर र भोलिको चिन्ता बिर्सिन्छन् ।

उनी टाढा पुग्छन्, दुःखहरुबाट । पुग्छन्,सुखको नजिक । एउटा सुख होईन, अनिगिन्ति सुखहरु । त्यसैले उनी थप्छन्, सुखहरुको नजिक । सुखैसुखैमा भएपछि धर्ती सुन्दर लाग्ने भैगो । संसार सुन्दर त्यसै हुने भयो ।

जहाँ प्रिय मान्छे, त्यही खुशी । जहाँ खुशी, त्यही स्वर्ग ? स्वर्ग कसले देखेको छ र ? उनी कल्पनामा डुब्छन् । र पुग्छन्, स्वर्गमा ।

उनी आकाशका तारा छुने कुरा गर्दैन् । प्रियमान्छेको साथमा कल्पिन्छन्, लाग्छ उनी आकाश छुदैछन् । र, मायालुलाई फुक्र्याउछन् । भन्छन्, कहिले लाग्छ आकाश छुन्छु, यस्तो लाग्छ स्वर्गमै हुन्छु ।

उनी औंधी खुशी हुन्छन्, प्रिय मान्छेको न्यानो साथमा । र त गीतमा भन्छन्, तिमीसंग हुदा म खुशी हुन्छु ।

गीतका शब्दहरु जति मिठा छन् । त्यत्तिकै मिठो छ, संगीत । त्यसमा सुगन्ध थपेको छ, प्रविणको स्वरले । म्युजिक भिडिओको छायांकनले अन्त्यसम्म डो¥याईरहन्छ, दर्शकलाई । प्रेमिल मात्र छैन्, पारिवारिक पनि छ भिडिओ ।

अमेरिकाको क्यालिफोर्नियामा छायांकन गरिएका दृष्यहरुमा प्रेमिल जोडीका स्नेहिल पलहरु मात्र कैद छैनन्, पारिवारिक जमघटका रमाईला दृष्यहरु पनि समेटिएका छन् । जसले म्युजिक भिडिओलाई उत्कृष्ट बनाएको छ ।

डुक्मणी थपलियाले निर्माण गरेको यो म्युजिक भिडिओका निर्देशक सुनिल रावल हुन् । गीतको छायांकन, सम्पादन र निर्देशन सागर खरेलले गरेका हुन् । गीतको म्युजिक भिडिओमा मोडल अंकित केसी र ईकृष्या थपलियाको अभिनय रहेको छ ।

मधु केसी/सरु थपलियाले निर्माण गरेको यो गीतका मिक्स/मास्टर दिक्षित पौडेल हुन् । पौडेलले नै संगीत निर्माण तथा एरेन्जमेन्टको भूमिका निर्वाह गरेका छन् ।

मिस्टिक भाइब्स रेकर्डस् थ्रोन्टन कोलोराडो र डीएस क्रिएसन स्टुडियोमा रेकर्ड गरिएको गीतका रेकर्डिष्ट राजन भक्त श्रेष्ठ हुन् ।

गीत सुनिरहदा कुनै उत्कृष्ट व्याण्डले संगीत भरे झै महशुस हुन्छ । जसमा गिटारमा पुरस्कार खड्का, सारंगीमा हेमन्त काञ्छा रसाइली र बाँसुरीमा रत्न बीकेले साथ दिएका छन् ।

गायक भट्टराईले म्युजिक भिडिओ बजारमा ल्याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

उनले म्युजिक भिडिओ हेरेर सुझाव, सल्लाह र प्रतिक्रिया दिन दर्शक तथा स्रोताहरुलाई आग्रह   गरे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस