सर्वपक्षीय सरकार गठनका लागि जेनजी युवालाई साथमा लिएर सडक संघर्ष गर्छौं : विप्लव

द एभरेष्ट पोष्ट
१० पुष २०८२ १३:४०
सर्वपक्षीय सरकार गठनका लागि जेनजी युवालाई साथमा लिएर सडक संघर्ष गर्छौं : विप्लव

काठमाडौं : नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको नेतृत्वमा सर्वपक्षीय सरकार गठनका लागि दबाब दिन सडक संघर्ष गर्ने बताएका छन्। बिहीबार काठमाडौंमा बसेको नेकपा माओवादीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै विप्लवले वर्तमान सरकारले जेनजीको भावनालाई आत्मसात गर्न नसकेकाले राजनीतिक दलको नेतृत्वमा सर्वपक्षीय सरकार गठनका लागि जेनजी युवाहरूलाई समेत साथमा लिएर सडक संघर्ष गर्ने बताएका हुन्।

उनले वर्तमान सरकार भंग गरि सर्वपक्षीय सरकार गठन गर्नका लागि राष्ट्रपति समक्ष १० दिने अल्टिमेटमसहितको माग पत्र समेत बुझाइएको जानकारी दिए।

आफूहरूको मागमा आवश्यकताको सिद्धान्तलाई प्रयोग गरी संविधानलाई संशोधन गर्नुपर्ने, समाजवादी सङ्घीय ढाँचामा राज्यको पुनर्संरचना गर्नुपर्ने, जेनजी आन्दोलनमा भएका सबै घटनाको छानबिन गर्नुपर्ने लगायत रहेको उनले बताए । विप्लवले जेनजी आन्दोलनपछि बनेको सरकारप्रति कोहि पनि सन्तुष्ट नरहेको र देशलाई निकास दिने अवस्था समेत नदेखिएको जिकिर गरे।

उनले भ्रष्टाचारको निष्पक्ष छानबिन गर्नका लागि उच्चस्तरीय नागरिक आयोग गठन गर्नुपर्ने आफूहरूको माग रहेको बताए। भ्रष्टाचारीमाथिको मुद्दा हेर्ने शक्तिशाली न्यायालय गठन गर्नुपर्ने र उक्त न्यायालयको फैसला नै अन्तिम फैसला हुनुपर्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस