पल शाहले स्थापना गरे ‘हामी छौं फाउन्डेसन’, दुर्गममा शिक्षा र स्वास्थ्य सेवा दिने

द एभरेष्ट पोष्ट
२२ मंसिर २०८२ १२:४२
पल शाहले स्थापना गरे ‘हामी छौं फाउन्डेसन’, दुर्गममा शिक्षा र स्वास्थ्य सेवा दिने

काठमाडौं । अभिनय र मोडलिङपछि पल शाह अब समाजसेवामा सक्रिय भएका छन् । उनले सामाजिक संस्था ‘हामी छौं फाउन्डेसन’ स्थापना गरेका छन् ।

दुर्गम तथा सेवामा पहुँच नपुगेका जिल्लामा शिक्षा, स्वास्थ्य तथा समुदायका विभिन्न कल्याणकारी कार्यमा सक्रिय हुने संस्थाको उक्त रहेको शाहले जनाएका छन् ।

हरेक वर्ष निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने, आर्थिकरुपमा कमजोर तथा बञ्चित परिवारका विद्यार्थीको लागि छात्रवृत्ति कार्यक्रम संचालन र सहयोग गर्ने, विपद् व्यवस्थापनमा तत्काल राहत तथा सहयोग उपलब्ध गराउने घोषणा गरिएको छ ।

शनिबार यो संस्थाको औपचारिक घोषणा गरियो । संस्थाले शंखमुलस्थित सुकुम्बासी बस्तीमा स्वास्थ्य शिविर आयोजना गर्‍यो । स्थापनायता संस्थाको यो पहिलो कार्यक्रम थियो ।

काठमाडौंमा आएदेखि नै आफ्नो संस्थामार्फत समाजसेवामा सक्रिय हुने सपना रहेको उनले बताए । ‘म काठमाडौंमा जहिले आएँ, त्यतिबेलादेखि मेरो सपना थियो मेरो फाउन्डेसन होस् र यसबाट समाजसेवाका कार्यक्रम गर्न पाऊँ’ शाहले भने, ‘५/७ वर्षदेखि मैले सुरु गर्न खोजेको थिएँ, कहिले के नमिल्ने र कहिले के नमिल्ने । यसपाली बल्ल वर्षौंदेखिको सपना पुरा भएको छ । दर्ता पनि भएको छ ।’

सो अवसरमा संगीतका १५ विद्यार्थीलाई १ वर्षको छात्रवृत्ति दिने घोषणा पनि शाहले गरे । ‘भावी दिनमा जहाँ सरकारको आँखा पुगेको छैन, त्यहाँस्थित दुर्गम जिल्लामा शिक्षा र स्वास्थ्यको कार्यक्रम लिएर जानेछौं’ उनले भने ।

फिल्मबाट आफूले पाएको पारिश्रमिकको १० प्रतिशत फाउन्डेसनमा खर्चिने पनि पलले बताए । पलको पछिल्लो फिल्म ‘मोहर’ हिट बनेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस