पूर्व प्रधानमन्त्री इमरान खानको ज्यान गएको हल्ला फैलिएपछि पाकिस्तानमा तनाव

द एभरेष्ट पोष्ट
१७ मंसिर २०८२ १५:१५
पूर्व प्रधानमन्त्री इमरान खानको ज्यान गएको हल्ला फैलिएपछि पाकिस्तानमा तनाव

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान जेलभित्रै ज्यान गएको हल्ला फैलिएपछि तनाव सिर्जना भएको छ । इमरान खानका छोराहरुले खानमाथि जेलभित्र कुटपिट भएको भन्दै भेट्न अनुमति मागेका थिए । तर सेनाले केही हप्तादेखि भेट्न नदिइरहेका बेला खानको जेल भित्रै ज्यान गएको हल्ला फैलिएको हो ।

अफगानिस्तान टाइम्स नामको एक्स ह्यान्डलबाट शुरू भएको हल्लाबारेमा स्वतन्त्र रूपमा पुष्टि भएको छैन । खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफले आज विरोध प्रदर्शनको योजना बनाएसँगै तनाव झनै बढेको हो ।

पीटीआईको प्रदर्शन हुनुअघि स्थानीय प्रशासनले इस्लामावाद र रावलपिण्डीमा भोलिसम्मका लागि धारा १४४ लागू गरेको छ । धारा १४४ लागू भएपछि कुनै पनि प्रकारको विरोध प्रदर्शन वा सभाको अनुमति हुँदैन भने एक ठाउँमा पाँच जना वा त्यो भन्दा बढी मानिस भेला हुन समेत प्रतिबन्ध लाग्छ ।

गएको हप्ता, इमरान खानलाई भेट्न गरेको आठौँ प्रयास पनि असफल भएपछि खैबर पख्तुनख्वाका मुख्यमन्त्री सोहेल अफ्रिदीले जेल बाहिर धर्ना दिएका थिए । उनलाई सेनाले कुटपिट गरेको थियो । यसैबीच खानकी पूर्वपत्नी जेमिमा गोल्डस्मिथले खानको अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायमा अनौठो मौनता देखिएको बताएका छन् ।

छोराहरुलाई हप्तौंसम्म भेट्न नदिएको अबस्थामा अन्तर्राष्ट्रिय समुदायले अनौठो मौनता कायम राखेको भन्दै उनले खानको अबस्था सार्वजनिक गर्न माग गरेका छन् । विभिन्न भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका ७२ वर्षीय खान सन् २०२३ देखि जेलमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस