एड्सको अन्त्यका लागि एकजुट हुन स्वास्थ्यमन्त्रीको आह्वान
काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले सन् २०३० सम्म एड्स महामारीलाई अन्त्य गर्ने काममा एकजुट हुन आह्वान गर्नुभएको छ । विश्व एड्स दिवसका अवसरमा भिडियो सन्देश जारी गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री गौतमले यस्तो आह्वान गर्नुभभएको हो ।
हरेक वर्ष डिसेम्बर १ का दिन विश्व एड्स दिवस मनाइन्छ । ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ’ भन्ने नाराका साथ आज ३८औं विश्व एड्स दिवस मनाइँदैछ ।
स्वास्थ्यमन्त्री गौतमले सन् २०३० सम्ममा एचआईभीको विश्वव्यापी मान्यता अनुसार नेपालले लिएको ९५–९५–९५ लक्ष्य हासिल गर्न सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो ।
लक्ष्यको अर्थ ९५ प्रतिशत एचआईभी सङ्क्रमितहरूले आफ्नो सङ्क्रमण अवस्थाबारे थाहा पाउने, तीमध्ये ९५ प्रतिशतको औषधि उपचारमा पहुँच हुने र ती औषधि खानेहरूमध्ये ९५ प्रतिशतको शरीरमा भाइरसको भार न्यून हुनुपर्ने भनिएको छ ।
अहिलेसम्म नेपालले पहिलो ९५ मध्ये ९० प्रतिशत, दोस्रो ९५ मध्ये ८८ प्रतिशत र तेस्रो ९५ मध्ये ७६ प्रतिशत लक्ष्य हासिल गरेको छ ।
सन् २०१० को तुलनामा २०२४ सम्म आइपुग्दा नयाँ सङ्क्रमणदर ७६ प्रतिशत र एड्सका कारण मृत्युदर पनि ७६ प्रतिशतले घटेको देखाएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको तथ्याङ्क अनुसार नेपालमा ३४ हजार ३३७ जनामा एचआईभी सङ्क्रमण भएको अनुमान छ ।
