विश्वप्रकाशको प्रस्ताव: राजनीतिक सहमतिमा फागुन २१ को चुनाव सार्नु उत्तम
काठमाडौं । नेपाली कांंग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनका विषयमा दुई वटा प्रस्ताव राख्दै त्यसै सिलसिलामा फागुन २१ को प्रतिनिधिसभा निर्वाचन पछि सार्न सकिने प्रस्ताव राखेका छन्।
इलाम पुगेका बेला महामन्त्री शर्माले महाधिवेशनका सन्दर्भमा दुई बुँदे प्रस्ताव राख्दै उक्त विषय पनि राखेका हुन्।
‘समय घर्कँदै गयो, अब नियमित महाधिवेशन सम्भव हुन्छ?,’ भन्ने पार्टीका नेताहरूको जिज्ञासामा आफू अझै प्रस्ट रहेको महामन्त्री शर्माले बताए। उनले भने, ‘म प्रस्ट छु, सबै ऐक्यबद्ध भएर जुटौँ, महाधिवेशन सम्भव छ, विकल्प दुई वटा छन्।’
पहिलो विकल्प–पुस अन्तिम साताका लागि नियमित महाधिवेशन गर्ने गरी अबको बैठकबाट कार्य तालिका निर्माण गर्ने रहेको उनले बताए। ‘महाधिवेशन तयारी क्रममा कहिदिन समय नपुग्न सक्ने अवस्था देखिए, थप १५ दिन समय लिएर महाधिवेशन सम्पन्न गर्ने,’ उनले भने।
यसैमा ‘समानुपातिकको सुची बुझाउने मिति वा फागुन २१ को चुनाव पनि केही पछि सर्न सक्ने’ शर्माले दाबी गरे। ‘शान्तिपूर्ण वातावरण बन्नुपर्ने आवश्यकता र हिमाली क्षेत्रको मौसमी प्रतिकुलता दृष्टिगत गरेर थोरै पछि सर्न सक्ने सम्भावनालाई राजनैतिक सहमतिमार्फत हल खोज्नु उत्तम हुन्छ,’ महामन्त्री शर्माले अगाडि भने।
दोस्रो विकल्पमा पार्टी सभापति शेरबहादुर देउवालाई देशको परिस्थिति, पार्टीको अवस्था र समयको चाप बुझेर ‘सुवर्ण शमशेर पथ’ पछ्याउन उनले सुझाव दिए। ‘त्यो भनेको २०१४ सालमा झैँ स्वयं सभापतिले मार्ग प्रशस्त गर्ने,’ महामन्त्री शर्माले अगाडि भने, ‘त्यसले एकातर्फ पार्टीले निकास प्राप्त गर्छ, अर्कोतर्फ उहाँको सम्मान र अभिभावकत्वको भूमिकाले उचाइ पाउनेछ।’
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरलाई सम्बोधन नगरी पार्टी अघि जान नसक्ने उनले दाबी गरे। ‘तब २०८२ मङ्सिर मसान्तमा विशेष महाधिवेशन, २०८३ मङ्सिरमा नियमित महाधिवेशन गर्न सकिनेछ,’ महामन्त्री शर्माले भने।
