रवि-छविको मुद्दाको सुनुवाई स्थगित
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका कानुन व्यवसायीले माग गरेपछि उच्च अदालत बुटवलमा दायर गरेको रिट निवेदनमाथिको आजको सुनुवाइ स्थगित भएको छ। गोला प्रथाबाट तीन नम्बर इजलासको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ परेको थियो ।
बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा थुनामा रहेका रवि लामिछाने र छविलाल जोशीको मुद्दा आजका लागि पेसी तोकिएको थियो। तर, लामिछानेको मुद्दाको पेसी पाटन उच्च अदालतमा पनि परेकाले उनका कानुन व्यवसायीले बुटवल इजलासमा स्थगन माग गरेपछि सुनुवाइ स्थगित भएको अदालतका उपरजिष्टार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए। बिहीबार ३ नम्बर इजलासमा न्यायाधीश मिलनकुमार राई र सानुमाया डङ्गोलको संयुक्त इजलासमा परेको थियो ।
यसअघि कात्तिक २७ गते न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासले सुप्रिम सहकारी ठगीबारे सर्वोच्च अदालतमा रहेको मूल अभियोग मिसिल झिकाउन आदेश दिएको थियो। सोही मिसिल प्राप्त हुने अपेक्षासहित बिहीबारका लागि पेसी तोकिएको थियो।
कात्तिक २० गतेको सुनुवाइमा पनि सोही इजलासले सुरु मिसिल मगाउन आदेश दिएको थियो। सर्वोच्चबाट सुरु मिसिल नआए पनि जिल्ला अदालतबाट प्रतिलिपि आएपछि आजको पेसी चढाइएको हो। अदालतले मुद्दालाई प्राथमिकताका साथ अघि बढाइरहेको ज्ञवालीले बताए।
यसअघि न्यायाधीश मिलनकुमार राई तथा ओमप्रसाद अर्यालको इजलासले लामिछाने र जोशीको मुद्दा एउटै प्रकृतिको भएकाले एकैसाथ राख्न आदेश गरिसकेको छ। बिगो बुझाएर थुनामै मुद्दा लड्न पाउने मागसँगै लामिछानेले दायर गरेको निवेदनमा उच्च अदालतले जोशीको फाइल समेत पेश गर्न निर्देश गरेको थियो।
रविले यसअघि जिल्ला अदालतमा पनि बिगो दाखिला गरी सहकारी ठगी मुद्दाबाट छुटकारा दिन माग गरेका थिए। तर, जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते सो निवेदन अस्वीकार गरेको थियो।
सुप्रिम सहकारी ठगी प्रकरणमा रविसहितका प्रतिवादीहरूलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरी अभियोग दायर गरिएको छ। सो रकममध्ये लामिछानेले चार भागमा बाँडिएको बिगोमध्ये आफ्नो एक भाग बराबर २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानतका रूपमा पेस गरेका छन्।
जोशीले पनि त्यति नै रकमबापत जमानत पेस गरेका थिए। तर, दुवैको व्यक्तिगत बिगो कति पर्ने भन्ने नटुंगिएकाले दुवैलाई रिहा नगरिने निर्णय भएको थियो। पुर्पक्षका लागि लामिछाने र जोशी दुवै कारागारमा छन् । भैरहवा कारागारमा रहेका लामिछानेलाई ललितपुरको नख्खु कारागार सरुवा गरिएको छ भने जोशी भने भैरहवा कारागारमै छन् ।
