बिहारकी सबैभन्दा कान्छी सांसद बनिन् मैथिली ठाकुर, आइरहन्थिन् नेपाल गीत गाउन

द एभरेष्ट पोष्ट
३० कार्तिक २०८२ १४:४७
बिहारकी सबैभन्दा कान्छी सांसद बनिन् मैथिली ठाकुर, आइरहन्थिन् नेपाल गीत गाउन

एजेन्सी । भारतको बिहार विधानसभामा गायिका मैथिली ठाकुर सबैभन्दा कान्छी सांसद बन्ने भएकी छन्। बिहारको दरभंगा जिल्लाको अलिनगर विधानसभा सिटमा जित निकाल्दै ठाकुर भारतमा अहिलेसम्मकै कान्छी सांसद बनेकी हुन्।

भारतीय जनता पार्टी (भाजपा)बाट चुनाव लडेकी ठाकुरले ८४ हजार ९१५ मत ल्याइन्। उनका प्रतिद्वन्द्वी राष्ट्रिय जनता दल (आरजेडी)का विनोद मिश्राले ७३ हजार १८५ मत ल्याए।   चुनावको मुखमा ठाकुर भाजपा प्रवेश गरेकी थिइन्।

उनी २५ वर्षकै उमेरमा सांसद बनेर भारतीय राजनीतिमा इतिहास रच्न सफल भएकी हुन्।

यसअघि बिहारको सबैभन्दा कान्छा विधायक २००५ मा निर्वाचित स्वतन्त्र उम्मेदवार तौसिफ आलम थिए।

त्यस्तै लालु यादवका छोरा तेजस्वीले २०१५ मा २६ वर्षको उमेरमै चुनाव जितेका थिए।

 को हुन् मैथिली ठाकुर?

मैथिली ठाकुरको परिचय एक गायिकाको रूपमा मात्र सीमित छैन। उनी युवापुस्ताका लागि एक ‘आइकन’ बनिसकेकी भनेर भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले जनाएको छ।

सन् २००० जुलाई २५ मा बिहारको मधुबनीमा जन्मिएकी उनले आफ्नो बुबा र हजुरबुबाबाट संगीतको प्रारम्भिक शिक्षा पाएकी थिइन्।

पछि उनले संगीतमा छात्रवृत्ति पाएर बाल भवन इन्टरनेशनल स्कुलबाट आफ्नो पढाइ पूरा गरेकी थिइन्।

आफ्नो संगीत यात्रामा उनले ‘सा रे ग म प लिटल च्याम्प्स’ र ‘इन्डियन आइडल जुनियर’ जस्ता कैयौं रियालिटी शोमा भाग लिइन्, तर प्रारम्भिक चरणबाटै बाहिरिएकी थिइन्।

सन् २०१७ मा, उनी ‘राइजिङ स्टार’ नामक चर्चित रियालिटी शोको पहिलो रनर-अप बनिन्। यहीँबाट उनको लोकप्रियता बढेको भनेर हिन्दुस्तान टाइम्सले लेखेको छ।

रियालिटी शो पछि उनले मैथिली भाषामा भजन गीत गाएर फेसबुक र युट्युबजस्ता सामाजिक सञ्जाल प्लेटफर्महरुबाट सार्वजनिक गर्थिन्।

उनका परम्परागत र भक्ति गीतहरूले भारत र विदेशमा रहेका दर्शकमाझ उनलाई लोकप्रिय बनायो। उनका भिडिओहरू करोडौं पटक हेरिन्छन् र उनी अन्तर्राष्ट्रिय स्तरमा समेत कार्यक्रमहरू गर्छिन्।

मैथिली भाषाका लोकगीतका कारण उनी नेपालको तराई-मधेश, विशेषगरी मिथिला क्षेत्रमाझ पनि उत्तिकै लोकप्रिय छिन्।

उनी सन् २०२३ मा जानकी मन्दिर आएकी थिइन्।

सन् २०२१ मा उनलाई संगीत नाटक एकेडेमी युवा कलाकारहरूलाई दिइने प्रतिष्ठित ‘उस्ताद बिस्मिल्ला खान युवा पुरस्कार’ बाट सम्मान गरेको थियो।

राजनीतिमा आउनुअघि उनलाई भारतीय निर्वाचन आयोगले बिहारको ‘स्टेट आइकन’ समेत बनाएको थियो।

मैथिलीले सन् २०२४ मा उनले अजय देवगन र तब्बु अभिनीत चलचित्र ‘औरों में कहाँ दम था’ मा ‘किसी रोज’ बोलको गीत गाएकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस