स्टार स्पोर्ट्सबाट खोसियो एनपीएल लाइभको एक्सक्लुसिभ राइट, अब एउटा नेपाली च्यानलमा पनि आउने
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनको प्रत्यक्ष प्रसारण नेपाली च्यानलमार्फत पनि हुने भएको छ । स्टार स्पोर्ट्ससँगै अर्को एउटा नेपाली टेलिभिजन च्यानलबाट समेत एनपीएल दोस्रो सिजन प्रसारण हुने भएको हो ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रतियोगिता सुरु हुनुभन्दा चार दिन अगाडि मात्रै यसअघि निकालेको ठेक्का संशोधन गर्दै स्टार स्पोर्ट्सँगै नेपाली च्यानलबाट पनि खेल प्रसारण गर्न लागेको छ । ४ नोभेम्बरमा नेपाल प्रिमियर लिगको नेपाल भित्रको प्रसारण अधिकार (लिनियर टेलिभिजन) बिक्रीका लागि सङ्घले टेन्डर निकालेको थियो ।
विदेशी च्यानललाई मात्रै छनोट गर्न ठेक्का निकालिएको भन्दै नेपालका टेलिभिजन च्यानल सञ्चालकहरूले विरोध गरेपछि क्यानले प्रतियोगिता सुरु हुन केही दिन अघि मात्रै ठेक्का संशोधन गरेको हो । क्यानका अनुसार अघिल्लो सिजनको जस्तै यो सिजन पनि स्टार स्पोर्टसले नेपाल प्रिमियर लिग प्रसारण गर्ने समझदारी बनिसकेको छ । तर, बिहीबार ठेक्का संशोधन गर्दै क्यानले नेपाली च्यानलहरूलाई पनि ठेक्कामा भाग लिन सक्ने गरी सूचना निकालेको छ ।
यसअघि इच्छुक प्रसारकसँग साधारण अनुभवअन्तर्गत विगत पाँच वर्षमा नेपालमा कम्तीमा एक अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रसारण अधिकार पाएको हुनुपर्ने सर्त तोकिएको थियो । अहिले क्यानले त्यसलाई संशोधन गर्दै विगत पाँच वर्षमा इच्छुक संस्थाले कुनै पनि आन्तरिक, क्षेत्रीय वा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रसारण अधिकारमा संलग्न भएको प्रमाण पेस गर्नुपर्नेछ ।
स्टार स्पोर्ट्सले नेपाल प्रिमियर लिग दोस्रो सिजनको एक्सक्लुसिभ अधिकार पाइसकेको छ । अर्थात् स्टार स्पोर्ट्ससँग मात्रै प्रतियोगिता अवधिभर खेलको प्रत्यक्ष प्रसारण गर्ने अधिकार थियो । खेलको हाइलाइट्सका साथै अन्य कन्टेन्ट क्यानबाट स्वीकृति लिएर सोही च्यानलले मात्रै प्रसारण गर्न पाउँथ्यो ।
तर, क्यानले त्यसलाई पनि संशोधन गर्दै ‘नन-एक्सक्लुसिभ’ प्रसारण अधिकार (लिनियर टेलिभिजन) बनाएको छ । अर्थात् अब अर्को एउटा नेपाली च्यानलले पनि नेपालमा एनपीएलका सबै खेल, हाइलाइट्स तथा अन्य कन्टेन्ट प्रसारण गर्न पाउने बाटो खुलेको छ ।
त्यसैगरी, क्यानले ठेक्काको न्यूनतम बिड मूल्य एक करोड रुपैयाँ तोकेको छ । ठेक्का प्रक्रियामा कम्तीमा दुई वटा कम्पनीले जोइन्ट भेन्चर (संयुक्त लगानी) गरेर प्रस्ताव पेस गर्न सक्छन् । तर, नेपाल प्रिमियर लिग भने एउटा मात्रै च्यानलमा प्रसारण गर्नुपर्ने सर्त संशोधनमार्फत थप गरिएको क्यानले जनाएको छ ।
शुक्रबार दिउँसो तीन बजेसम्म इच्छुक संस्थाले ठेक्काको डकुमेन्ट खरिद गर्न सक्नेछन् भने प्रस्ताव शनिबार मध्यान्न १२ बजेसम्म बुझाइ सक्नुपर्नेछ । क्यानले शनिबार दिउँसो १ बजे ठेक्का प्रस्ताव खोल्ने तयारी गरेको छ ।
क्यानले ४ नोभेम्बरमै भारतबाहेकका सबै देशहरूमा एनपीएल प्रसारणका लागि ओटीटी प्लेटफर्ममार्फत एक्सक्लुसिभ अधिकार बिक्री गर्ने टेन्डर खुलाएको थियो । त्यसको नतिजा भने क्यानले आधिकारिक रूपमा सार्वजनिक गरिसकेको छैन ।
