प्रतिनिधिसभा चुनाव : स्वस्तिक छाप र मतपत्र छाप्न आवश्यक कागज पुग्दो
काठमाडौं । आगामी प्रतिनिधि सभा चुनावका लागि स्वस्तिक छाप र मतपत्र छाप्न आवश्यक कागज प्रर्याप्त रहेको निर्वाचन आयोगले जनाएको छ ।
आगामी फागुन २१ गतेका लागि चुनावको मिति तोकिएको छ । उक्त चुनावका लागि आवश्यक सामग्रीहरूको जोहोमा निर्वाचन आयोग लागेको छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई भन्छन्, ‘स्वस्तिक छाप र मतपत्र छाप्न आवश्यक कागज प्रर्याप्त छ’ उनले भने । उनका अनुसार मतपेटिका पनि शतप्रतिशत छ ।
आयोगका अनुसार मतपेटिका नयाँ खरिद गर्न पर्दैन । यसअघि प्रयोग भएकै मतपेटिका पुन: प्रयोग गर्न मिल्ने र नयाँ खरिद गर्न नपर्ने निर्वाचन आयोगले जनाएको छ ।
स्वस्तिक छाप र मतपत्र छाप्न आवश्यक कागज पनि प्रर्याप्त रहेकाले नयाँ खोज्नु नपर्ने भएको छ ।
अन्य आवश्यक सामग्री भने खरिद गर्नुपर्ने हुन्छ । यो सहितको निर्वाचन बजेट तयार भएको छ । तयार भएको बजेट आयोगले अर्थ मन्त्रालय पठाएको छ ।
निर्वाचन आयोगले अर्थ मन्त्रालयमा पठाएको बजेटमा आगामी प्रतिनिधिसभा सदस्यका लागि २१ फागुनमा हुन लागेको चुनावमा साढे सात अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । तर, अर्थ मन्त्रालयबाट स्वीकृत हुन बाँकी छ ।
निर्वाचन आयोगले बजेट निर्माण गरेसँगै निर्वाचनका लागि आवश्यक सामग्रीहरूको सूची तयार गर्दैछ। अर्थ मन्त्रालयबाट बजेट स्वीकृत भएसँगै आवश्यक सामग्री किन्न सुरू गर्ने आयोगको तयारी छ । यसअघि नै रहेका सामग्री समेत प्रयोग गर्ने गरी आयोगले थप आवश्यक सामग्री खरिद गर्न खोजेको जनाएको छ। यसअघि नै रहेका सामग्री समेत प्रयोग गर्न मिल्ने सामग्रीहरूमा मतपेटिका समेत छ ।
अर्थ मन्त्रालयले बजेटबारे छिट्टै निर्णय र दिने र आवश्यक सामग्री खरिदको प्रक्रिया सुरु गर्ने आयोगले जनाएको छ ।
