केही दिन राहदानी सेवामा समस्या हुन सक्ने
काठमाडौं : राहदानी विभागले नयाँ राहदानी प्रणालीमा रूपान्तरणको अन्तिम चरणमा रहेको जनाउँदै केही दिन राहदानी सेवामा समस्या हुन सक्ने जानकारी गराएको छ। विभागका अनुसार २०८२ साल फागुनदेखि सञ्चालनमा आउने गरी नयाँ पासपोर्ट सेवा तथा पूर्वाधार निर्माण कार्य सुरु भएको छ।
नयाँ प्रणाली लागू गर्ने प्रक्रियाका कारण हाल सञ्चालनमा रहेका सेवाहरूमा सीमित प्रभाव परेको राहदानी विभागले स्पष्ट पारेको छ। यसैक्रममा केही नागरिकलाई एपोइन्टमेन्ट सल्ट खुल्न नसक्ने तथा आवेदन र वितरण प्रक्रियामा अवरोध देखिएको विभागले जनाएको छ।
विभागका अनुसार सेवा अवरुद्ध लामो समयसम्म नहुने र समस्या समाधानका उपायहरू तत्काल कार्यान्वयन भइरहेको छ। सोही अनुरूप, आगामी मङ्सिर २ गतेदेखि बेलुका ४ बजेदेखि राति १० बजेसम्म दिनभरका अवरुद्ध ११,००० सम्मका एपोन्टमेन्ट सल्ट क्रमशः संचालनमा ल्याउने तयारी गरिएको छ।
विभागले सेवा प्रभावित हुनुपर्ने बाध्यताप्रति क्षमा माग्दै नागरिकलाई सहयोग र धैर्यताको आग्रह गरेको छ। साथै, राहदानी सम्बन्धी कुनै जानकारी, समस्या वा गुनासोका लागि विभागको आधिकारिक सम्पर्क माध्यममार्फत मात्र सम्पर्क गर्न आग्रह गरिएको छ।
राहदानी विभागले अवैध शुल्क माग गर्ने दलाल गतिविधिबाट सचेत रहन नागरिकलाई विशेष रूपमा ध्यानाकर्षण गराएको छ। विभागले अधिकारिक व्यक्तिबाट मात्र सेवा प्राप्त गर्न आग्रह गर्दै अनधिकृत व्यक्तिहरूबाट टाढा रहन आग्रह गरेको छ।
