नेपाल एयरलायन्सका करारका कर्मचारीलाई तत्काल हटाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगममा पहुँचका आधारमा भर्ती गरिएका करारका कर्मचारीलाई तत्काल हटाउन निर्देशन दिएकी छन् ।
पर्यटनमन्त्रीका हैसियतमा प्रधानमन्त्री कार्कीले आज निगमको सञ्चालक समिति र व्यवस्थापनका अधिकारीहरूलाई सिंहदरबारमा बोलाएर यस्तो निर्देशन दिएकी हुन् । उनले, ‘जेनजीहरूले यत्रो रगत बगाएको केका लागि हो ? यस्तै नातावाद, कृपावाद, विभेद अन्त्यका लागि होइन ? यता यत्रो आन्दोलन भइरहेको छ, उता भटाभट आफ्ना मान्छे भर्ती गरेको छ। अवकाश पाएर घर जान लाग्दा पनि मनपरी गर्न छाडिएको छैन। कतिसम्मको बेथिति हो यो ?’
कुनै समय गौरव गर्नलायक बनेको संस्था अहिले दर्दनाक अवस्थामा पुगेको भन्दै निगमभित्रका बेथिति हटाउन कसैको मुख नहेरी कठोर रूपमा लाग्न पनि निर्देशन दिइन् ।
प्रधानमन्त्री कार्कीले कतैबाट आउने अनुचित र गैरकानुनी दबाब नसुन्न पनि निगमका नेतृत्वलाई निर्देशन गरेकी छन् । ‘राजनीतिक मान्छेहरूले दबाब दिन्छन्। तपाईंहरु किन खुरुखुरु त्यस्तो दबाब मान्ने ? भोलि कारबाहीमा पर्ने त तपाईंहरू हो नि,’ प्रधानमन्त्री कार्कीले भनेकी थिइन् ।
