केपी ओलीले प्रधानमन्त्री मातहत लगेका तीन विभाग मन्त्रालयमै फर्काइँदै

काठमाडौं । सरकारले प्रधानमन्त्री कार्यालय मातहत रहेका राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग तथा राजस्व अनुसन्धान विभागलाई विगतमा जस्तै सम्बन्धित मन्त्रालयमातहत नै ल्याउने भएको छ ।
आइतवार बस्ने मन्त्री परिषद्को बैठकले एउटा प्रमुख सुरक्षा अंगका रुपमा रहेको राष्ट्रिय अनुसन्धान विभागलाई पुन: गृह मन्त्रालयमातहत नै ल्याउने निर्णय गर्ने तयारी रहेको अर्थ मन्त्रालयको स्रोतले अनलाइनखबरलाई बतायो ।
त्यस्तै, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राजस्व अनुसन्धान विभागलाई पुन: अर्थ मन्त्रालय मातहत नै ल्याउने गरी मन्त्रिपरिषद्मा प्रस्ताव गएको मन्त्रालय स्रोतले जानकारी दियो ।
विस २०७४ को निर्वाचनमा एमाले र माओवादीले करिब दुई तिहाइ बहुमत ल्याएपछि प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले यी तीन महत्वपूर्ण विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याएका थिए ।
तत्कालीन प्रधानमन्त्री ओलीले प्रधानमन्त्री कार्यालयमा शक्ति एकत्रित गर्ने प्रयासस्वरुप १६ फागुन २०७५ मा यी विभागहरूलाई आफूमातहत ल्याएका थिए ।
गृह मन्त्रालय अन्तर्गत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग गरी तीनवटा सुरक्षा अंग रहेकोमा विभाग चाहिँ प्रधानमन्त्री कार्यालय मातहत गएपछि सुरक्षा समन्वयमा ठूलो कमजोरी रहँदै आएको थियो । २३ र ३४ भदौको आन्दोलनका क्रममा पनि त्यो स्पष्ट रुपमा देएिको थियो ।
त्यस्तै, कर र आर्थिक विषयमा सम्बन्धित अनुसन्धान गर्ने निकायहरू राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभाग प्रधानमन्त्री कार्यालय मातहत लगेपछि यी निकाय गम्भीर अनुसन्धान भन्दा पनि अशुली धन्दा चलाउने अड्डामा रुपान्तरण भएको आरोप लाग्दै आएको थियो ।
अर्थ मन्त्रालयसँग सिधा सम्पर्कमा रहेर काम गर्नुपर्ने यी निकायहरूले प्रधानमन्त्री कार्यालयमातहत स्वतन्त्र निकायजस्तो गरी काम गर्दा ठूलो समस्या सिर्जना भएको अर्थ स्रोत बताउँछ ।
‘यी विभागहरू सम्बन्धित मन्त्रालयहरुमा फर्काउनका लागि कार्यविभाजन नियमावलीमा संशोधन गर्नुपर्ने हुन्छ, त्यसअनुसारको प्रस्ताव गइसकेको छ,’ मन्त्रालय स्रोत बताउँछ ।
‘विगतमा सरकारहरूले सुशासनलाई भन्दा पनि आर्थिक लाभ र शक्ति केन्द्रीकरणलाई केन्द्रबिन्दुमा राखेर विभागलाई अनावश्यक रुपमा चलाएका थिए, त्यसमा सुधार गर्न खोजिएको हो,’ मन्त्रालय स्रोतले भन्यो ।