देउवाको टाउकोमा १२ टाँका लगाइयो

काठमाडौं । नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको गर्धनभन्दा माथि टाउकोमा १२ टाँका लगाएको जनाएको छ।
कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचार विभाग प्रमुख मीन विश्वकर्माले अहिले सभापति देउवा दम्पतीको स्वास्थ्यमा सुधार भइरहेको बताए।
उनले भने, ‘हामी सुरुमा अतालिएका थियौँ। तर उहाँहरूको स्वास्थ्य उपचार राम्रो हुँदै गयो। अहिले सामान्य अवस्थामा फर्किँदै हुनुहुन्छ। उहाँहरूको स्वास्थ्यमा सुधार आइरहेको छ। उहाँ (देउवा) को गर्धनभन्दा माथि टाउकोमा गम्भीर चोट लागेको छ। त्यहाँ १२ वटा टाँका लगाइएको छ। गर्धनमा सामान्य चोट छ। टाँका लगाएको ठाउँ र त्यो चोट निको हुँदै गएको छ।’
उनले अहिले सभापति देउवा सामान्य बोलचाल, हिँडडुल र पार्टीका नेताहरूसँग संवाद गर्नसक्ने भएको बताए।
उनले भने, ‘अहिले अस्पतालमै राखेर उपचार गर्ने कुरा छ। बाहिर गएपछि भिडभाड हुन्छ, त्यसले छिटो स्वास्थ्य लाभ गर्न असहयोग गर्छ। त्यसो भएकाले केही दिन हेरौँ भन्नुभएको छ।’