पहिलो महिला महान्यायाधिवक्ता भण्डारीले लिइन् पद तथा गोपनियताको सपथ

काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारी बरालले आज प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसमक्ष पद तथा गोपनीयताको शपथ लिएकी छन् । शपथ ग्रहण समारोह सर्वोच्च अदालतमा भएको हो ।
प्रधानन्यायाधीश राउतले आयोजित विशेष कार्यक्रमबीच भण्डारी बराललाई शपथ गराएका थिए । कार्यक्रममा सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ललगायत उच्च न्यायिक अधिकारीहरूको उपस्थिति थियो । शपथ ग्रहणपछि भण्डारी बरालले महान्यायाधिवक्ता कार्यालयमा पदभार ग्रहण गर्ने कार्यक्रम छ ।
वरिष्ठ अधिवक्ता भण्डारी बराललाई प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्तामा नियुक्त गरेका थिए । पूर्वमहान्यायाधिवक्ता रमेश बडालको राजीनामा स्वीकृत भएपछि यो नियुक्ति भएको हो । भण्डारी बराल नेपालको इतिहासकी पहिलो महिला महान्यायाधिवक्ता बन्न सफल भएकी छन् । उनी ९२ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीकी छोरी हुन् र लामो समयदेखि कानुनी क्षेत्रमा सक्रिय छन् ।
जेनजी आन्दोलनको दबाबमा गठित अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीले यो नियुक्तिमार्फत न्यायिक क्षेत्रमा महिलाको प्रतिनिधित्व बढाउने प्रयास गरेको बताइएको छ । भण्डारी बरालले शपथपछि आँफु ‘संविधानअनुसार कानुनी राज्य कायम राख्न र न्यायको पहुँच सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताएकी छन् । यो नियुक्तिले अन्तरिम सरकारको न्यायिक सुधारको एजेन्डालाई बल पुर्याउने अपेक्षा गरिएको छ ।
सरकारले ६ महिनाभित्र निर्वाचन गराउने संवैधानिक जिम्मेवारी बोकेको सन्दर्भमा महान्यायाधिवक्ताको भूमिका महत्वपूर्ण हुने जनाइएको छ ।