उपत्यकामा रोकिएका यात्रु पठाएपछि मात्रै दशैंको अग्रिम टिकट बुकिङ

काठमाडौं । यातायात क्षेत्रसँग सम्बन्धित सरोकारवाला समेटेर उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन भएको छ ।
आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव सहित सरोकारवाला र याताायात व्यवसायी बीचको बैठकले यस्तो निर्णय गरेको हो ।
नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार आजको बैठकले दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय भने गरेन । यसबारे सोमबार पुनः यातायात व्यवस्था विभागसहितका सरोकारवालासँग छलफल हुनेछ ।
पहिलो प्राथमिकता यो एक साता काठमाडौंमा रोकिएका यात्रुलाई काठमाडौं बाहिर सुरक्षित रूपमा पठाउने कामलाई दिने भन्ने कुरा भयो,’ उनले भने, ‘त्यसपछि अग्रिम टिकट बुकिङ खुलाउने कुरा भएको छ ।’
वर्तमान परिस्थिति एवं चाडपर्वको समयमा यात्रुको यात्रा सुरक्षित र सहज बनाउन एवं प्राप्त गुनासो तत्काल सम्बोधन गरी यातायात व्यवस्थापन गर्न यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा समिति गठन गरिएको छ ।
समितिमा प्रहरी र व्यवसायीसमेत रहने गरी तोकिएको छ । आजको बैठकले ट्राफिक प्रहरीलाई आवश्यक पर्ने सामग्री भौतिक मनत्रालय र सडक सुरक्षा परिषद्बाट उपलब्ध गराउने निर्णय भएको छ ।