समाजको मनोबल बढाउन जेन-जीसहितले थाले बस्तीमा गस्ती

पोखरा । देशमा व्याप्त भ्रष्टाचार र सामाजिक सञ्जाल बन्द गर्ने निर्णयका विरुद्ध आन्दोलनमा उत्रिएका पोखरा हेमजाका युवाले सरकारी संरचना जलाउने प्रयासलाई रोकेका छन् भने बस्ती जोगाउन गस्ती गर्ने गरेका छन् ।
भदौ २३ गते जेनेरेसन जेडको (जेन–जी) पुस्ताको आन्दोलनमा भएको सरकारी दमनपछि भोलिपल्ट सबै सरकारी सरकारी संरचना, नेताको घर, ठूला व्यवसायी निसानामा परेका थिए । पोखरामा पनि शृंखलाबद्ध रूपमा तोडफोड, लुटपाट र आगजनीमात्रै चलेन, जेन–जी आन्दोलनको नाममा शहरभरि आतंक नै मच्चाइयो ।
पहिलो पटक आन्दोलनमा उत्रिएको पुस्तालाई सरकारको नेतृत्वले गरेको अपमान, दमन र नरसंहारले हेमजाका युवाहरूको पनि मन रोएको थियो । तर, जनताको करबाटै निर्माण भएका सरकारी संरचनामा क्षति पुर्याउन उक्साउने, लुटपाट, तोडफोड र आगजनी गर्ने समूह सहरैभरि उस्तै देखिन्थे । राज्यका सम्पत्तिमाथि विध्वंस मच्चाएकोप्रति हेमजाका जेनजी युवाहरूलाई चित्त बुझेको थिएन ।
देशभर सरकारी तथा व्यापारीका संरचनामा आगलागी भएपछि सग्लो रहेको पोखरा–२५ को वडा कार्यालयमा भोलिपल्ट बुलेट, क्रस फायरजस्ता मोटरसाइकल पड्काउँदै केही युवा पुगे ।
जेन–जी आन्दोलनमा सहभागी भएका स्थानीय सन्तोष तिमिल्सिनाले संरचना ध्वस्त बनाउनु आफूहरूको कुनै उद्देश्य नभएको र भीडमा घुसपैठ हुँदा त्यो अवस्था आएको बताउँछन् ।
उनले बस्तीमा शान्ति सुरक्षाका लागि समूह नै बनाएर गस्ती गरिरहेको जानकारी दिए । जेन–जीको आन्दोलन एक हिसाबले सफल भएको तर उनीहरूलाई देखाएर केही अराजक स्वार्थ समूह, केही लुटेरा र आवाराको समूहले समेत फाइदा उठाएको उनको बुझाइ छ ।
‘जेन–जीको आन्दोलन र माग जायज थियो । हामी सचेत छौं, के गर्न हुन्छ, के हुँदैन बुझेका छौं । तर, भीड उत्तेजित भएपछि दुर्घटनातिर गयो, त्यसमा अराजकता र घुसपैठसमेत भएपछि संरचना सखाप भए’ उनले थपे, ‘तर, अब भएका संरचनालाई जोगाउनु, समाजको आत्मबल बढाउनु र कुनै घटना घट्न नदिनु पनि हाम्रो नै दायित्व हो ।’
देशमा भ्रष्टाचार, लामो समय नेतृव गरेका प्रमुख राजनीतिक दलका नेताले गरेको अनियमितता र गरिब जनतालाई दु:ख गरेर पनि खान नपुग्ने, काम गर्छुभन्दा पनि युवाले रोजगारी नपाउने तर नेताका छोराछोरी भएकै कारण विलासी जीवन बाँच्ने गरेकोमा युवाहरूले सामाजिक सञ्जालमा चर्को असन्तुष्टि पोख्दै आन्दोलनका योजना बुनेका थिए ।
सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि त्यो विरोधसहित मुख्य यिनै दुई एजेण्डाका साथ सडकमा उत्रिएका कलिला विद्यार्थीमाथि समेत सरकारले दमन गरेर नरसंहार गरेपछि युवाहरू ओक्रोश ह्वात्तै बढेको थियो ।
युवाहरूले कुनै उच्छृंखल गतिविधि हुन नदिनका लागि समूह बनाएर निगरानी राख्ने, बाहिर मानिसहरू आएर व्यापारिक भवन तोडफोड तथा लुटपाट गर्न खोजे नियन्त्रण गर्ने, समन्वय गर्ने गरेका छन् ।
गृहमन्त्रीले राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नै नढाल्दासम्म आन्दोलन नरोक्ने योजनासहित युवाहरू मंगलबार सडकमा निस्किएका थिए । यही समूहमा थिए हेमजाबाट जेन–जी पुस्ताका सन्तोष तिमिल्सिना, विपिन पौडेल, रोशन थापा, विशाल पौडेल लगायतका युवाहरू सडकमा निस्किएका थिए ।
शान्तिपूर्ण आन्दोलन गर्ने र सरकार नढल्दासम्म प्रदर्शन तथा दबाब बढाइराख्ने योजनासहित सडकमा उत्रिएका थिए, उनीहरू । तर, परिस्थिति जटिल बन्न पुग्यो । प्रदर्शनमा जसै भीड बढ्दै जान थाल्यो, आन्दोलन पनि उग्र र उत्तेजित बन्दै जान थाल्यो ।
काठमाडौंमा एकपछि अर्को सरकारी संरचनाहरूमा आगो लाग्न थाले । तोडफोड, आगजनी र लुटपाट मच्चिन थाल्यो ।
जेन–जी समूहको आन्दोलनका लागि विपिन पौडेल, रोशन थापा, विशाल पौडेल, सन्तोष लगायतले म्यासेन्जरमा एउटा ग्रुप बनाएका थिए । पारस त्रिपाठीलगायत समेत सहभागी भएर अहिले युवाहरूले सामाजिक सञ्जालको ग्रुपमार्फत नै बस्तीमा गस्तीको सहजीकरण गरिरहेका छन् । उनीहरूको ग्रुपमा ४० जना जति जोडिएका छन् ।
‘देशमा अहिले लगभग शून्यताको अवस्थामा छ । प्रहरीदेखि सबैजसो राष्ट्रसेवक त्रासमा छन् भने समाजलाई लयमा ल्याउने, थप भड्किन नदिने आन्दोलनमा होमिएका हामी जेन–जीको पनि दायित्व हो,’ सन्तोषले भने, ‘देशमा ठूलो क्षति त भई नै हाल्यो तर, जेन–जी आन्दोलनले उपलब्धि पनि हासिल गरेको छ । केन्द्रमा अब अन्तरिम सरकार बन्ला र थप योजना अगाडि बढाउला ।’
तर, अहिले समाजको मनोबल जोगाइराख्नु र विस्तारै स्थितिलाई सामान्यीकरण गर्नुपर्ने प्रमुख दायित्व सम्पूर्ण जेन–जी र स्थानीयको समेत भएको उनीहरूको बुझाइ छ ।
उनीहरूले कुनै उच्छृंखल गतिविधि हुन नदिनका लागि समूह बनाएर निगरानी राख्ने, बाहिर मानिसहरू आएर व्यापारिक भवन तोडफोड तथा लुटपाट गर्न खोजे नियन्त्रण गर्ने, समन्वय गर्ने गरेका छन् ।
जेन–जीको आन्दोलनका कारण हेमजामा रहेका प्रहरीसमेत विस्थापित भएका थिए । अहिले प्रहरी आइसकेका छन् । तर, वडा प्रहरी कार्यालय बगरबाट हतियारसमेत लुटेर भागेका छन् । कैदीबन्दीहरूसमेत छुटेका छन् जसका कारण समाजमा डर पनि छ ।
‘एकातिर वर्षौंदेखि जरो गाडेर बसेका ठूला दल र नेताहरूको जरै हल्लिएकोमा खुसी छन् भने अर्कोतिर समाजमा अपराध बढ्न सक्ने त्रास पनि देखिएको छ’ युवाहरू भन्छन्, ‘यस्तो बेलामा हामीले थप डरभन्दा पनि समाजमा विश्वास बढाउनुपर्छ भनेर लागिरहेका छौं ।’