भिजिट भिसा प्रकरण: छानबिन समितिले रास्वपा सचिवालयमा बुझायो प्रतिवेदन

द एभरेष्ट पोष्ट
११ भदौ २०८२ १६:०२
भिजिट भिसा प्रकरण: छानबिन समितिले रास्वपा सचिवालयमा बुझायो प्रतिवेदन

‘भिजिट भिसा प्रकरणमा पीडितहरूलाई सहयोग गर्दा पार्टी नेताको अवाञ्छित संलग्नता भएको’ भन्ने विषयमा छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठकमा सांसद प्राध्यापक डाक्टर चन्दा कार्कीको नेतृत्वमा गठित छानबिन समितिले आफ्नो प्रतिवेदन कार्यवाहक सभापति डोलप्रसाद अर्याललाई बुझाएको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए।

पार्टीका नेता तथा कार्यकर्ताहरूमाथि भिजिट भिसा प्रकरणमा अनियमितता र अवाञ्छित संलग्नताको आरोप लागेपछि रास्वपाले उक्त घटनाको सत्यतथ्य पत्ता लगाउन डा. कार्कीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो।

समितिले यस प्रकरणका विभिन्न पक्षमा गहन अध्ययन तथा अनुसन्धान गरी आज आफ्नो प्रतिवेदन पेश गरेको हो।

प्रवक्ता झाका अनुसार, प्रतिवेदनमा भिजिट भिसामा देखिएका समस्याहरू, त्यसमा पार्टीका कुनै नेता वा सदस्यको संलग्नताको अवस्था र भविष्यमा यस्ता घटना दोहोरिन नदिनका लागि आवश्यक सुझावहरू समेटिएको छ।

सचिवालयले अब प्रतिवेदनमाथि विस्तृत छलफल गरी आवश्यक निर्णय लिनेछ।

भिजिट भिसा मार्फत मानव तस्करी गर्ने काममा सरकारका गृहमन्त्री रमेश लेखक समेत मुछिएको आरोप लगाउँदै  रास्वपाले राजीनामा माग राखी संसद् अवरोध जारी राखेको छ।

तर, कांग्रेसका सांसद रामहरि खतिवडाले रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्याल नै भिजिट भिसा मार्फत मानव तस्करीमा संलग्न रहेको आरोप लगाएपछि कार्कीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस