न्यौपानेद्वारा राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा उम्मेदवारी दर्ता

द एभरेष्ट पोष्ट
१० भदौ २०८२ १५:२०
न्यौपानेद्वारा राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदमा उम्मेदवारी दर्ता गरेकी छन् ।

मंगलबार समिति सभापति निर्वाचनका लागि तोकिएको समयमा न्यौपानेले उम्मेदवारी दर्ता गरिएकाे सङ्घीय संसद् सचिवालयका सचिव हर्कराज राईले जानकारी दिए ।

उनको उम्मेदवारीमा प्रस्तावका कांग्रेस सांसद रामहरि खतिवडा र समर्थक एमाले सांसद कृष्णगोपाल श्रेष्ठ छन् । खतिवडा यो भन्दा अघिका समिति सभापति थिए । कुलिङ पिरियड सम्बन्धी विवादमा मुछिएपछि सभापति पदबाट खतिवडाले गत साउन २८ गते राजीनामा दिएका थिए ।

नेपाली कांग्रेसका शीर्ष नेताहरूको बिहान सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकले न्यौपानेलाई राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । पार्टीको त्यो निर्णयपछि न्यौपानेले संसदीय सुनुवाइ समिति (संयुक्त)बाट राजीनामा दिएकी थिइन् ।

सुनुवाइ समितिबाट राजीनामा दिएर न्यौपानेले राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा उम्मेदवारी दिएकी हुन् ।

न्यौपाने कांग्रेसबाट समानुपातिक तर्फकी सांसद हुन् । उनलाई यसअघि कांग्रेसले प्रतिनिधिसभाको उपसभामुख पदमा पनि उम्मेदवार बनाएको थियो । उनी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगरसँग उपसभामुखमा पराजित भएकी थिइन् ।

राज्य व्यवस्था समितिको सभापति पदमा उम्मेदवारी दिने समय दिउँसो १ बजेदेखि दिउँसो ४ बजेसम्म तय गरिएको थियो । निर्वाचन भने बुधबार दिउँसो ३ बजे समितिको बैठकमै हुने कार्यतालिका सङ्घीय संसद् सचिवालयले सोमबार नै सार्वजनिक गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस