महाधिवेशन प्रभावित पार्ने खालका क्रियाकलाप नगर्न लिङ्देनलाई राणाको आग्रह

द एभरेष्ट पोष्ट
८ भदौ २०८२ १४:२६
महाधिवेशन प्रभावित पार्ने खालका क्रियाकलाप नगर्न लिङ्देनलाई राणाको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का महामन्त्री धवलशम्शेर राणाले पार्टीको आगामी महाधिवेशनलाई प्रभावित पार्ने कुनैपनि काम नगर्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।

आइतबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री राणाले आगामी मंसिरमा पार्टीको महाधिवेशन गर्ने समय आएकाले त्यसलाई प्रभावित गर्ने कुनैपनि काम नगर्न पार्टी नेतृत्वलाई आग्रह गरे हो ।

महाधिवेशन समयमा निष्पक्ष रूपमा हुनुपर्ने उल्लेख गर्दै राणाले सवै पक्षलाई बाधा अवरोध नपारि सहज रूपमा महाधिवेशन प्रतिनिधि छनोट गर्न दिनुपर्ने बताए ।

राणाले महाधिवेशनको मुखमा एकलौटी रूपमा नेता कार्यकतालाई हटाउने र स्पष्टीकरण माग्ने कार्यले देशभरका राप्रपा कार्यकर्ता चिन्तित रहेको धारणा राखे । उनले पार्टी विधि विधानविपरीत नेतृत्वले एकपक्षीय ढंगले निर्णय गर्दा केहि समस्या देखिएको जिकिर गरे ।

त्यस्तै उनले कुनै हालतमा राप्रपालाई फुट्न नदिने स्पष्ट पार्नुभयो । नेतृत्वका विषयमा केही फरक मत भएपनि पार्टी फुटाएर अघि बढ्ने सोच आफूहरूको नरहेको राणाले प्रष्टीकरण दिए ।

महामन्त्री राणाले अध्यक्ष पार्टीको अभिभावक रहेकाले सबैलाई मिलाएर अघि बढ्न खोजे सबै कुरा मिल्ने तर एकलौटी निर्णय गरे मान्य नहुने चेतावनी दिए । उनले आगामी महाधिवेशनको मिति तोक्न ढिलाइ गर्न नहुनेमा समेत जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस