सबै प्रयासका बाबजुद विपिन जोशीको अवस्था अझै अज्ञात : परराष्ट्र मन्त्रालय

काठमाडौँ: सरकारले सबै प्रयासका बाबजुद पनि विपिन जोशीको अवस्था अझै अज्ञात रहेको बताएको छ। उनकी आमा र बहिनी हाल इजरायल पुगेको सन्दर्भमा बुधबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै उनको रिहाइका लागि उठाइरहेको बताएको हो।
‘यी सबै प्रयासका बाबजुद निज विपिन जोशीको अवस्था अझै अज्ञात रहेको छ, यसै क्रममा निजको आमा र बहिनी हाल इजरायल पुग्नुभएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘निजहरूले त्यहाँका महामहिम राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री, इजरायलका लागि अमेरिकी राजदूत तथा अन्य पिडित परिवारका सदस्यहरूसँग भेटघाट गरी निजको रिहाइका लागि आवाज उठाउनुभएको छ भने उहाँहरूको भ्रमणको सहजीकरण इजरायलस्थित नेपाली राजदूतावासबाट भइरहेको व्यहोरा पनि अनुरोध छ।’
मन्त्रालयले विपिनको रिहाइको विषयलाई उच्च प्राथमिकतामा राखेर विदेशस्थित सबै रादूतलाई सक्रिय बनाएको समेत दाबी गरेको छ। ‘यस विषयलाई उच्च प्राथमिकतामा राखी मन्त्रालयले विदेशस्थित सबै नेपाली राजदूतहरूलाई त्यहाँ रहेका आफ्ना कतारी र इजिप्सियन समकक्षीहरूलाई भेट गरी नेपाल सरकारको अनुरोध आ-आफ्ना सरकार समक्ष पुर्याउन अनुरोध गर्न निर्देशन दिएकोमा सोही बमोजिम भेटघाट गरी मन्त्रालय र नेपाल सरकारको चासो सञ्चार गरी प्रतिवेदनहरू पनि प्राप्त भएका छन्,’ ती पहलको विवरण उल्लेख गर्दै भनेको छ, ‘यसैगरी, जेनेभास्थित नेपाली राजदूतले अन्तर्राष्ट्रिय रेडक्रसका प्रमुखसँग भेटघाट गरी निज विपिन जोशीको रिहाइको सम्भावना बारे छलफल समेत गर्नुभएको छ भने इजरायल र कतारमा रहेका नेपाली राजदूतहरूले यस विषयलाई प्रमुख कार्यभारको रुपमा लिई कार्यसम्पादन गरिरहनुभएको छ।’
त्यस्तै इजरायल र हमासबीच दोस्रो पटक भएको अल्पकालीन युद्ध विरामको मन्त्रालयले यसको स्वागत गर्दै मध्यस्थकर्ता मुलुकहरू कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाका वार्ताकारहरूलाई विपिन जोशीलाई रिहा हुने बन्दीको सूचीमा राख्ने विषयलाई प्राथमिकता दिन सम्बन्धित सरकारमार्फत् बारम्बार अनुरोध गरेको उल्लेख गरेको छ।