‘भिजिट भिसा’मा विदेश जानेले नागरिक एपमा यात्राको पूर्वस्वःघोषणा गर्नुपर्ने

काठमाडौं । अध्यागमन विभागले पर्यटक भिसा (भिजिट भिसा)मा विदेश जानेको यात्रालाई सहज बनाउन ‘पूर्वस्वःघोषणा’ गर्नुपर्ने व्यवस्था लागु गर्न लागेको छ ।
गृह मन्त्रालयअन्तर्गतको विभागले आइबार एक सूचना जारी गर्दै ‘नागरिक एप’मार्फत गरिने यस्तो व्यवस्थाले अध्यागमन प्रक्रियालाई थप सहज बनाउने जनाएको छ ।
“विशेष गरी पर्यटक भिसामा विदेश जाने नेपाली नागरिकहरूको यात्रा सहजीकरण गर्ने प्रयोजनार्थ नागरिक एपमार्फत यात्रापूर्व नै स्वःघोषणा र अन्य कागजात समेत मोबाइलमार्फत नै अपलोड गर्ने व्यवस्थाको अन्तिम तयारी भइरहेको र यसले अध्यागमन प्रक्रिया थप सहज हुने विश्वास लिइएको छ,” विभागले सूचनामा भनेको छ ।
विभागले कुनै पनि उद्देश्यका लागि विदेश प्रस्थान अनुमति लिन आएका यात्रु नागरिकहरूको अध्यागमन प्रक्रियामा दलाल वा बिचौलियाको संलग्नता देखिएमा त्यस्ता व्यक्तिहरूमाथि प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि दिएको छ ।
अनधिकृत व्यक्ति तथा संस्थाको प्रलोभनमा परी अवैधानिक तरिका र मार्गबाट विदेश नजान पनि विभागले अनुरोध गरेको छ ।
“यसरी यात्रा गर्दा यहाँको भ्रमण उद्देश्य, गन्तव्य मुलुक जस्ता विवरणहरू राज्यको अभिलेख सूचना प्रणालीभन्दा बाहिर रहने हुँदा भविष्यमा कुनै समस्या आइपरेमा वा उद्धार गर्नुपरेमा राज्यलाई असहज हुन सक्छ । त्यसैले आफ्नो यात्राको उद्देश्य र गन्तव्यबारे सही जानकारीसहित वैधानिक माध्यमबाट मात्र यात्रा गर्नुहुन सम्बन्धित सबै नागरिकहरूलाई अनुरोध गरिन्छ,” विभागले भनेको छ ।