जेलको भित्तामा रविको सन्देश: ‘अब कृष्ण जन्मिने छैन, जन्मेकाहरूले नै कृष्ण बन्नुपर्नेछ’

द एभरेष्ट पोष्ट
३२ साउन २०८२ १७:१३
जेलको भित्तामा रविको सन्देश: ‘अब कृष्ण जन्मिने छैन, जन्मेकाहरूले नै कृष्ण बन्नुपर्नेछ’

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रुपन्देही कारागारबाट काठमाडौं सरुवा हुनुअघि आफू बसेको कोठाको भित्तामा एक दार्शनिक सन्देश छोडेका छन्।

कृष्ण जन्माष्टमीकै दिन १२६ दिनको बसाइपछि कारागार सारिएका उनले भित्तामा ‘अब कृष्ण जन्मिने छैन। जन्मेकाहरूले नै कृष्ण बन्नुपर्नेछ,’ भन्ने सन्देश लेखेको रवि आफैले बताएका हुन्।

शनिबार भैरहवामा पार्टीको प्रशिक्षण कार्यक्रममा रहेका प्रवक्ता मनिष झा र उपसभापति डा. स्वर्णिम वाग्लेले लामिछानेलाई विमानस्थलमा छोटो भेट गरेका थिए।

भेटमा लामिछानेले आफू राजनीतिक प्रतिशोधबाट नडराएको र नेपालको कुनै पनि कुनामा बस्न तयार रहेको बताएका थिए।

‘राजनीतिक प्रतिशोधले यिनीहरूले मंगलग्रह लगे पनि डराउँदिन, यो त मेरो देश हो, मेरो भूमि हो,’ झाले लामिछानेको भनाइ उद्धृत गर्दै भने, ‘म बसेको कारागारको कोठाको भित्तामा मैले यो सन्देश लेखेर आएको छु।’

विमानस्थलमा छोटो भेटका क्रममा लामिछाने उज्यालो अनुहारमा देखिएको र कुनै त्रास नदेखिएको झाले बताए। लामिछानेले आफूलाई १२६ दिनसम्म सहयोग गर्ने भैरहवाका जनता, सुरक्षाकर्मी र कारागार प्रशासनप्रति आभार व्यक्त गरेका थिए।

आफ्ना विरोधीप्रति लक्षित गर्दै उनले भनेका थिए, ‘४६३ दिन पहिले एकजनाले प्रमाण छ भनेर भने। मैले प्रमाण मागेँ, उसले बल प्रयोग देखायो। मैले न्याय मागेँ, उसको संयन्त्रले प्रतिशोध साध्यो। तर पनि म भयभित छैन।’

लामिछानेलाई शनिबार साँझ काठमाडौं ल्याई ललितपुरस्थित नख्खु कारागारमा राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस