ओलीले नकारे पूर्वराष्ट्रपति एमालेमा फर्किने कुरा, फर्किए पनि काम गर्न नसक्ने जिकिर

द एभरेष्ट पोष्ट
२ साउन २०८२ १५:४०
ओलीले नकारे पूर्वराष्ट्रपति एमालेमा फर्किने कुरा, फर्किए पनि काम गर्न नसक्ने जिकिर

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीमा फर्किनेबारे कुनै छलफल नभएको बताएका छन् । ओलीले अहिलेसम्म भण्डारीले एमालेमा फर्किनेबारे नबोलेको पनि दाबी गरेका छन् । उनले भण्डारी एमालेमा फर्किनेबारे पार्टीले निर्णय गर्ने पनि बताएका छन् ।

पत्रकार विजयकुमार पाण्डेसँगको एक भिडियो अन्तर्वार्ताका क्रममा ओलीले भण्डारीको एमालेमा पुनरागमनबारे घुमाउरो भाषामा असन्तोष व्यक्त गरेका हुन् । गत असार १४ गते ओली नै उपस्थित भएको मदन भण्डारी फाउन्डेशनको कार्यक्रममा पूर्वराष्ट्रपतिले एमालेको सदस्यता नवीकरण गरिसकेको बताउँदै अब एमालेको राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन् । तर ‌ओलीले भण्डारीका पछिल्ला गतिविधिमा असन्तुष्टि जनाउँदै उनले राजनीतिमा फर्किनेबारे आफूसँग कुनै सल्लाह नगरेको जिकिर गरेका हुन् ।

‘उहाँले न त मलाई सोध्नु भयो न सल्लाह नै गर्नुभयो । उहाँले राजनीतिमा फर्किनेबारे न त पार्टीसँग आधिकारिक रूपमा भनेको जानकारी छ,’ ओलीले भने, ‘एमालेमा फर्किनका लागि उहाँले कुनै माध्यमबाट खबर गरेको थाहा छैन । मौखिक वा लिखित रूपमा पनि उहाँले पार्टीसँग सम्पर्क गर्नुभएको मेरो जानकारीमा छैन।’

पूर्वराष्ट्रपति भण्डारीले एमालेको सदस्यता नवीकरण गरेसँगै आन्तरिक तरंग फैलिएको छ। ओलीले भण्डारीलाई एमालेमा स्वागत गर्ने विषयमा पार्टीले बैठकबाटै आवश्यक निर्णय गर्नु जरुरी रहेको पनि बताएका छन् ।

‘उहाँ हाम्रै पार्टीको उपाध्यक्ष हुनु हुन्थ्यो । हामीले नै उहाँलाई राष्ट्रपति बनाएर पठाएका हौँ’, उनले भने, ‘यो अवस्थामा राष्ट्रपतिबाट बिदा भइसकेकपछि पार्टीमा फर्किने विषय गम्भीर छ। यसबारे पार्टीले संस्थागत रूपमा निर्णय गर्नु जरूरी हुन्छ ।’

ओलीले पूर्वराष्ट्रपति एमालेको राजनीतिमा फर्किँदा नैतिक असरको पनि ख्याल गर्नुपर्ने बताएका छन् । पछिल्लो समय राष्ट्रको उच्च पदमा पुगिसकेका व्यक्तिले राजनीतिमा फर्किनु नैतिक रुपमा उचित कुरा नभएको बताउने गरिएको छ ।

‘उहाँ (विद्या भण्डारी) एमालेमा आउनु हुँदा त्यसले पार्ने असरबारे हामीले विचार गर्नुपर्ने हुन्छ । राजनीतिमा उहाँको पुनरागमनले गर्न सक्ने नैतिक, राजनीतिक, व्यवस्थागत र व्यक्तिगत असरबारे पनि हामीले सोच्नु आवश्यक छ’, उनले भने, ‘उहाँलाई यी सबै कुराको ख्याल गर्न सुझाउनु, निर्णयमा सघाउनु पार्टीकै जिम्मेवारीको कुरा हो । पार्टीको जिम्मेवारी दिने सवालमा पनि छलफल हुन्छ।’

भण्डारीले यसअघि नै राजनीतिमा फर्किन गरेको कोसिसबारे भने आफू जानकार रहेको ओलीले बताएका छन् । उनले भण्डारीबाट राजनीतिमा फर्किने संकेत पाएको पनि उल्लेख गरेका छन् । ‘उहाँको धारणा हामीले बुझ्नुपर्ने हुन्छ । उहाँको चाहना र धारणाबारे पार्टीमा छलफल हुन्छ’, उनले भने, ‘हामी उहाँबारे निर्णय लिन ढिला पनि गर्दैनौँ ।’

तर उनै ओलीले भण्डारीलाई ११ औँ महाधिवेशनबाट एमालेको नेतृत्वमा ल्याउने कुरामा पनि हाँसेर जवाफ दिएका छन् । उनले अहिले नै उनलाई एमालेको नेतृत्वमा ल्याउनेबारे केही पनि कुरा नभएको बताए । उनले अहिलेसम्म एमालेले पूर्वराष्ट्रपति राजनीतिमा फर्किने कुरा नस्वीकारेको बताए ।

ओलीले भण्डारी करिब १० वर्षदेखि एमालेमा नरहेकाले नेतृत्वमा फर्किएर काम गर्न पनि समस्या हुने बताएका छन्। निरन्तर नेतृत्वमा रहेर काम गरेको अनुभव नभएको अवस्थामा पूर्वराष्ट्रपतिले एमाले हाँक्न नसक्ने पनि उनले संकेत गरे ।

ओलीले एमालेमा फर्किनेबारे पूर्वराष्ट्रपतिले अरुसँग गरेको सल्लाहाबारे आफू जानकार नभएको बताए । तर उनले आफूसँऊ अहिलेसम्म कुनै सल्लाह नगरेको उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस