‘म पनि रियल मेड्रिडको फ्यान’, पाए जर्सी नं ७ : प्रधानमन्त्री ओली

द एभरेष्ट पोष्ट
१९ असार २०८२ १६:५२
‘म पनि रियल मेड्रिडको फ्यान’, पाए जर्सी नं ७ : प्रधानमन्त्री ओली

काठमाडौं । स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वप्रसिद्ध फुटबल क्लब रियल मेड्रिडको घरेलु मैदान ‘सान्टियागो बर्नाबाउ’ को भ्रमण गरेका छन्।
आफूलाई रियल मेड्रिडको फ्यान बताएका प्रधानमन्त्री ओलीलाई क्लबले क्रिस्टियानो रोनाल्डो जस्ता दिग्गज खेलाडीले प्रयोग गरेको चर्चित ७ नम्बरको जर्सी उपहार दिएको छ।

प्रधानमन्त्री ओलीलाई क्लबका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्वागत गर्दै रंगशालाको अवलोकन भ्रमण गराएका थिए।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले अत्याधुनिक र सुविधासम्पन्न रंगशालाको प्रशंसा गर्दै आफूलाई रियल मेड्रिडको समर्थकका रूपमा चिनाएका थिए।

भेटघाटका क्रममा निर्देशक मिगेलले प्रधानमन्त्री ओलीलाई उनको नाम अंकित ७ नम्बरको जर्सी उपहार दिए। ‘म पनि रियल मेड्रिडको फ्यान हुँ,’ प्रधानमन्त्रीले भने, ‘यो भव्य रंगशाला र क्लबको आतिथ्यता देखेर खुसी लाग्यो।’

निर्देशक मिगेलले नेपाली युवा प्रतिभाहरूलाई रियल मेड्रिडको तालिम एकेडेमीमा सहभागी हुन प्रोत्साहन समेत गरे।

प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको विकासका लागि वित्त सम्मेलनमा सहभागी हुन स्पेन पुगेका हुन्।

सेभियामा कार्यक्रम सकेर म्याड्रिड पुगेका उनको रंगशाला अवलोकन भ्रमणमा मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, खानेपानी मन्त्री प्रदीप यादव, परराष्ट्र सचिव अमृतबहादुर राई र स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल पनि सहभागी थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस