रक्षा बम भन्छिन्- गणेश नेपाली जेनजी आन्दोलनकारी हो, तिमीहरूको शासनमा मृत्युसँग जुधिरहेको छ

द एभरेष्ट पोष्ट
२६ असार २०८३ ११:४७

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका गणेश नेपाली जेन-जी आन्दोलनमा सक्रिय सहभागी भएको खुलेको छ । नागरिक आन्दोलनमा सक्रिय अभियन्ता रक्षा बमले सामाजिक सञ्जालमार्फत गणेशले आन्दोलनमा भाग लिएर घाइते समेत बनेको बताएकी छन् ।

उनी लेख्छिन्, ‘गणेश नेपाली जेन-जी आन्दोलनमा सहभागी थिए । आन्दोलनका क्रममा उनको हातमा सामान्य चोट पनि लागेको रहेछ । उनी त्यही आन्दोलनकारी हुन्, जो आफू बाँच्न लायक देश होस् भनेर त्यो दिन सडकमा ओर्लिएका थिए ।’

हिजो तिनै युवाहरूले गरेको संघर्षको जगमा आज शासन चलिरहेको तर तिनै युवाहरू राज्यको संवेदनहीनताका कारण अस्पतालको शय्यामा पुगेको उनले टिप्पणी गरेकी छिन् ।

बम थप्छिन् ‘आज त्यही संघर्षका कारण तिमीहरू सत्ता र शक्तिमा छौ, तर उ तिमीहरूको शासनमा अस्पतालको शय्यामा मृत्यु र जीवनबीच जुधिरहेको छ ।’

सरकारले भुइँतहका मानिसहरूमाथि त्रास फैलाएको र उनीहरूको आर्थिक अवस्थालाई नजरअन्दाज गरेको बमको आरोप छ । दुई-तिहाइको दम्भले गरिब जनताको पीडा नबुझेको उल्लेख गर्दै उनले भनेकी छिन्, ‘दुईतिहाइको मातले जे पनि गर्न सकिन्छ भनेर तिमीहरूले भुइँतहका मानिसहरूमाथि त्रासमाथि त्रास थोपर्दै आइरहेका छौँ ।’

विशेष गरी ट्राफिक नियम र पार्किङका नाममा लिइने चर्को जरिवानाप्रति उनले गम्भीर प्रश्न उठाएकी छिन् ।

‘ट्राफिक नियम उल्लङ्घन गर्दा हजारौँ/लाखौँ जरिवाना तिर्नुपर्ने व्यवस्था तिमीहरूले आफ्नै आर्थिक हैसियतअनुसार ल्याउँदै छौ । तर, तिमीहरूलाई याद रहोस्, यो देश १,००० रूपैयाँ जरिवाना तिर्न नसकेर आत्मदाह गर्न बाध्य हुने मानिसहरूको देश हो,’ बमले चेतावनीपूर्ण भाषामा भनेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस