साफ महिला च्याम्पियनसिप : श्रीलंकाविरुद्धको पहिलो हाफमा नेपालको अग्रता
काठमाडौं । नेपाल भारतमा जारी साफ महिला च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको पहिलो हाफमा १–० ले अगाडी छ ।
आइतबार भारतको गोवास्थित जवाहरलाल नेहरु रंगशालामा नेपाललाई स्ट्राइकर रश्मीकुमारी घिसिङले अग्रता दिलाइन् । रश्मीले पहिलो हाफको इन्जुरी टाईममा पेनाल्टी बक्सभित्र रेखा पौडेलको पासमा बललाई जाली चुमाएकी थिइन् ।
तर, नेपालले यसबाहेक पनि थुप्रै अवसर पाएको थियो । १२औँ मिनेटमा उनै रश्मीले सुनौलो अवसर गुमाइन् । उनले टोलीकी कप्तान रहनुका नगरकोटेको पासमा पेनाल्टी बक्सभित्र गरेको प्रहार बायाँ बार हुँदै बाहिरिएको थियो ।
२७औँ मिनेटमा फरवार्ड रेखा पौडेल पनि गोल गर्नबाट चुकिन् । उनको फितलो प्रहार श्रीलंकाकी पी. शनुले ‘ब्लक’ गरेकी थिइन् । सेमिफाइनल पुग्न नेपालले कम्तीमा बराबरी गर्नुपर्नेछ । श्रीलंका भने जित निकाल्नै पर्ने दबाबमा छ ।
